अदालतले म्याद थप्न अस्वीकार गरेपछि एक दिनमै रिहा भए दुर्गा प्रसाईं

अदालतले म्याद थप्न अस्वीकार गरेपछि एक दिनमै रिहा भए दुर्गा प्रसाईं

काठमाडौं : जिल्ला अदालत भक्तपुरले अनुसन्धानको लागि हिरासतमा राख्न अनुमति नदिएपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं सोमबार रिहा भएका छन्। 

आइतबार राति पक्राउ परेका प्रसाईंलाई सोमबार अदालतमा उपस्थित गराइएकोमा अदालतले उनलाई हिरासत बाहिरै राखेर अनुसन्धान गर्न आदेश दियो।

आदेशमा भनिएको छ, “अनुसन्धान गर्न यी प्रतिवादीलाई हिरासतमा नराखिए प्रमाण नष्ट गर्ने वा भागी जान सक्ने अवस्थासमेत वादी पक्षबाट ठोस आधार पेस हुन आएको नहुँदा हिरासतमा राख्ने गरी म्याद थपसम्मको अवस्था देखिएन।”

आइतबार दिउँसो पत्रकार सम्मेलन गरी सरकारविरुद्ध आन्दोलनको घोषणा गरेलगत्तै प्रहरीले सोही राति उनलाई भक्तपुरस्थित निवासबाटै जरुरी पुर्जी थमाएर पक्राउ गरेको थियो।  

प्रसाईंमाथि साइबर अपराधको कसुर, राज्यविरुद्धको कसुरअन्तर्गत सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धको कसुर र सार्वजनिक शान्ति विरुद्धको कसुर गरी तीन कसुरमा म्याद थप गर्न सरकारी वकिल कार्यालयमार्फत अदालतमा उपस्थित गराइएको थियो भने सात दिनको म्याद थप्न माग गरिएको थियो।

साउन १८, २०८३ सोमबार २१:५६:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।