गोलबजार घटनाको सत्य खोज्न स्थलगत अनुसन्धानमा खटियो छानबिन टोली

गोलबजार घटनाको सत्य खोज्न स्थलगत अनुसन्धानमा खटियो छानबिन टोली

सिरहा : सिरहाको गोलबजारमा हालै भएको तनावपूर्ण घटनाको सत्यतथ्य पत्ता लगाउन गृह मन्त्रालयद्वारा गठित उच्चस्तरीय छानबिन टोलीले स्थलगत अनुसन्धान सुरु गरेको छ। 

मन्त्रालयका सहसचिव पुष्पराज शाहीको नेतृत्वमा खटिएको टोलीले घटनास्थलको निरीक्षण गर्दै तथ्य, प्रमाण तथा उपलब्ध सूचनाहरू संकलन र सरोकारवालासँग छलफल सुरु गरेको छ।

स्थानीय प्रशासन, सुरक्षा निकाय, जनप्रतिनिधि, पीडित पक्ष र अन्य सरोकारवालासँग छलफल गरिरहेको छानबिन टोली जनाएको छ। घटनाको वास्तविक कारण, परिस्थिति र जिम्मेवारीबारे निष्पक्ष तथा वस्तुनिष्ठ ढंगले अध्ययन गरी प्रतिवेदन तयार पार्ने जिम्मेवारी छानबिन टोलीलाई दिइएको छ।

छानबिनलाई पारदर्शी, निष्पक्ष र विश्वसनीय बनाउने प्रतिबद्धता व्यक्त गरेको गृह मन्त्रालयले घटनाको सत्यतथ्य पत्ता लगाएर प्रतिवेदन पेस गर्न छानबिन टोलीलाई निर्देशन दिएको छ। उक्त प्रतिवेदनका आधारमा सरकारले आवश्यक कानुनी र प्रशासनिक कारबाहीको प्रक्रिया अघि बढाउने गृह मन्त्रालयले जनाएको छ।

गोलबजार घटनापछि स्थानीय क्षेत्रमा उत्पन्न तनावलाई मध्यनजर गर्दै सरकारले घटनाको निष्पक्ष अनुसन्धानमार्फत सत्यतथ्य बाहिर ल्याउन उच्चस्तरीय छानबिन टोली बनाएर घटनास्थलमा खटाएको छ। 

साउन १८, २०८३ सोमबार १७:३६:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।