५७८ ग्रामभन्दा बढी खैरो हेरोइनसहित नेपालगञ्जबाट दुई जना पक्राउ
काठमाडौं : भारतको बाह्रपंखीबाट अवैधरूपमा लागु औषध खैरो हेरोइन नेपाल भित्र्याई कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा बिक्री गर्दै आएका दुई जना कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ।
लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्जको टोलीले सोमबार नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ बाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–४ का ३० वर्षीय सुशिल भण्डारी र वडा नं. १० का ५५ वर्षीय अरुण कुमार जयसवाल रहेका छन्।
प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूको साथबाट १५३.९५० ग्राम खैरो हेरोइन बरामद गरिएको थियो। त्यसपछि थप अनुसन्धानका क्रममा अरुण कुमार जयसवालको घरमा खानतलासी गर्दा कोठाभित्र दराजमा लुकाइ राखिएको थप ४२५ ग्राम खैरो हेरोइन फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले उनीहरूको साथबाट कुल ५७८.९५० ग्राम खैरो हेरोइन, १ थान डिजिटल तराजु, दुई थान मोबाइल, एक लाख ८० हजार नेपाली रुपैयाँ र दुई लाख १४ हजार भारतीय रुपैयाँ बरामद गरेको छ।
जयसवाल २०७५ सालमा पनि २४ ग्राम हेरोइनसहित पक्राउ परी ३ वर्ष जेल सजाय भुक्तान गरेर छुटेका व्यक्ति हुन्।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको ब्यूरोका प्रवक्ता दुर्गा राज रेग्मीले जानकारी दिएका छन्।
साउन १८, २०८३ सोमबार १७:१५:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।