काठको मुचुल्का बनाउन घुस लिएको आरोपमा वन कार्यालय प्रमुख यादवविरुद्ध भ्रष्टाचार मुद्दा

काठको मुचुल्का बनाउन घुस लिएको आरोपमा वन कार्यालय प्रमुख यादवविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : घुस लिएको आरोपमा पक्राउ परेका सिरहाको सब-डिभिजन वन कार्यालय बन्दीपुरका कार्यालय प्रमुख राम केवल राय यादवविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ।

काष्ठ उद्योगका लागि ल्याइएको काठहरू सिलबन्दी अनुसार भए/नभएको रुजु गरी कागजातसहितको फाइल फिर्ता गर्ने र ट्रकहरूको सिल खोलेको मुचुल्का बनाइदिए बाफत सेवाग्राहीसँग १२ हजार घुस लिएको अवस्थामा  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यादवलाई पक्राउ गरेको थियो।

अनुसन्धानका क्रममा उनले पदीय ओहोदाको दुरुपयोग गरी घुस लिएको देखिएपछि सोमबार अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए। 

आयोगले यादवविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा १२ हजार रुपैयाँ बिगो कायम गरी सोही ऐनअनुसार कैद र जरिवानाको सजाय मागदाबी गरेको छ।

साउन १८, २०८३ सोमबार १६:२४:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।