सुनकोशीमा खसेको कारमा जुगल गाउँपालिकाका पूर्ववडाध्यक्षसहित तीन जना बेपत्ता
काठमाडौं : सिन्धुलीको फिक्कल गाउँपालिका-२ स्थित नवलपुरमा सोमबार बिहान सडक किनारमा रोकिराखेको कारलाई यात्रुवाहक बसले ठक्कर दिँदा कार सुनकोशी नदीमा खसेर दुर्घटना भएको छ।
प्रहरीका अनुसार बिहान करिब १०:३० बजेको समयमा भएको उक्त दुर्घटनामा कारसहित तीन जना नदीमा बेपत्ता भएको सिन्धुलीको फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बरालले जानकारी दिए।
उनले उकेरासँग भने, ‘नदीमा खसेको कारमा सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका पूर्व वडाध्यक्ष दिलकुमार लामासहित तीन जना सवार थिए।’
यसअघि स्थानीयले कारमा चार जना रहेको बताए पनि गाउँपालिका उपाध्यक्ष बरालले कारमा तीन जना मात्र सवार रहेको पुष्टि गरेका छन्। दुर्घटनाग्रस्त कार मध्यपहाडी लोकमार्ग निर्माण आयोजनामा कार्यरत ठेकेदार तिलकुमार लामाको रहेको खुलेको छ।
घटनालगत्तै स्थानीय प्रहरी, सशस्त्र प्रहरी र विपद् व्यवस्थापन टोली उद्धारका लागि परिचालन भएका छन्।
फिक्कल, सुनकोशी र गोलन्जोर गाउँपालिकाले संयुक्त रूपमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बेस क्याम्प स्थापना गरेका छन्। सोही बेस क्याम्पका गोताखोर सहितको टोलीले र्याफ्टिङ बोटको प्रयोग गरी नदीमा खोजी कार्य जारी राखेको छ।
यद्यपि, सुनकोशी नदीमा पानीको बहाव उच्च र धमिलो भएकाले कार र बेपत्ता यात्रुहरूको अवस्था अझै अज्ञात रहेको उपाध्यक्ष बरालले बताए।
साउन १८, २०८३ सोमबार १४:०८:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।