धनुषामा निषेधाज्ञा हट्यो, चहल पहल सामान्य

धनुषामा निषेधाज्ञा हट्यो, चहल पहल सामान्य

धनुषा : जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम उपमहानगरपालिका लगायतका क्षेत्रमा जारी गरिएको निषेधाज्ञा हटाएको छ। जिल्ला प्रशासन कार्यालय धनुषाले एक सूचना जारी गर्दै निषेधाज्ञा हटाएको जानकारी गराएको हो।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलद्वारा जारी सूचनाअनुसार जिल्ला सुरक्षा समितिको बैठकले पछिल्लो सुरक्षा अवस्थाको समीक्षा गर्दै स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३क) बमोजिम जारी गरिएको निषेधाज्ञा आज सोमबार बिहान ५ बजेदेखि हटाउने निर्णय गरेको हो।

गत साउन १६ गते बिहान १० बजेदेखि जनकपुरधाम उपमहानगरपालिका लगायतका क्षेत्रमा सम्भावित अप्रिय घटना रोक्न निषेधाज्ञा लागू गरिएको थियो।

कर्फ्यू हटेसँगै बजार, यातायात र सर्वसाधारणको दैनिक गतिविधि पनि क्रमशः सामान्य अवस्थामा फर्किन थालेका छन्।

यस्तै,  यसका अलावा धनुषासँग जोडिएका नेपाल-भारत सीमा नाकाबाट नेपाल प्रवेश गर्ने सबै व्यक्तिका लागि अब परिचयपत्र अनिवार्य गरिएको छ। जिल्ला सुरक्षा समितिको बैठकले सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन यस्तो निर्णय गरेको हो

जिल्ला प्रशासन कार्यालय धनुषाका अनुसार अब सीमा नाकाबाट नेपाल प्रवेश गर्ने प्रत्येक व्यक्तिले आफ्नो पहिचान खुल्ने परिचयपत्र अनिवार्य रूपमा देखाउनुपर्नेछ। सुरक्षा निकायले परिचयपत्रका आधारमा अभिलेख राख्दै मात्र प्रवेशको अनुमति दिने व्यवस्था लागू गरिने जनाएको छ।

साउन १८, २०८३ सोमबार १०:०४:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।