कल बाइपास गर्ने भिओआइपी उपकरण र सामग्रीसहित चार जना पक्राउ

कल बाइपास गर्ने भिओआइपी उपकरण र सामग्रीसहित चार जना पक्राउ

काठमाडौँ : काठमाडौँ र भक्तपुर जिल्लाका विभिन्न स्थानमा अवैध रूपमा अन्तर्राष्ट्रिय कल बाइपास  सञ्चालन गरेको आरोपमा चार जना पक्राउ परेका छन्। उनीहरूलाई दूरसञ्चार ऐनबमोजिमको कसुरमा संलग्न रहेको पाइएपछि विभिन्न उपकरणसहित नियन्त्रणमा लिइएको हो। 

प्रारम्भिक अनुसन्धानबाट बरामद गरिएका उपकरण तथा सामग्रीहरू अनलाइन बेटिङमा समेत प्रयोग भएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जानकारी दिएको छ।

प्रहरीले गोरखाको अजिरकोट गाउँपालिका-५ घर भई हाल काठमाडौँको जयबागेश्वरी बस्ने २२ वर्षीय प्रोसेस गुरुङलाई १६ पोर्टको सिमबक्स डिभाइस १ थान, ल्यापटप १ थान, एनसेल सिमकार्ड २२ थान, वाईफाई राउटर १ थान र मोबाइल फोन १ थानसहित साउन १४ गते पक्राउ गरिएको हो। 

काठमाडौँको शंखरापुर नगरपालिका-१ घर भई हाल गणेशस्थान बस्ने २० वर्षीया मुना श्रेष्ठलाई १६ पोर्टको सिमबक्स डिभाइस १ थान, ल्यापटप १ थान, राउटर १ थान, एनसेल सिमकार्ड २० थान र मोबाइल २ थानसहित मिति २०८३ साउन १४ गते नियन्त्रणमा लिइएको हो। यी दुबैलाई काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद लिई अनुसन्धान गरिएको छ। 

कञ्चनपुरको कृष्णपुर नगरपालिका-७ स्थायी घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका-४ मा बस्ने २१ वर्षीय जेनित झुकाललाई ११२ पोर्टको सिमबक्स डिभाइस ५ थान, ब्याट्री ८ थान, इन्भर्टर १ थान, एनसेल सिमकार्ड १५३ थान र मोबाइल फोन २ थानसहित मिति २०८३ साउन १५ गते पक्राउ गरिएको हो। उनलाई भक्तपुर जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ। 

भक्तपुरको सूर्यविनायक नगरपालिका-१ का ३४ वर्षीय कृष्ण नगरकोटीलाई आफ्नै घरमा भिओआइपी सञ्चालन गर्न तयारी गरेको अवस्थामा ब्याट्री ८ थान, युपीएस  १ थान, इन्टरनेट हव १ थान, ल्यापटप १ थान र राउटर १ थानसहित मिति २०८३ साउन १५ गते नियन्त्रणमा लिइएको छ। उनलाई पनि भक्तपुर जिल्ला अदालतबाट ७ दिनको म्याद लिई अनुसन्धानको दायरामा राखिएको छ। 

साउन १७, २०८३ आइतबार २०:४८:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।