युट्युबमार्फत भ्रामक सूचना र अफवाह फैलाएको आरोपमा एक जना पक्राउ

युट्युबमार्फत भ्रामक सूचना र अफवाह फैलाएको आरोपमा एक जना पक्राउ

काठमाडौँ : सामाजिक सञ्जाल युट्युबमार्फत भ्रामक सामग्री, जातीय तथा धार्मिक सद्भाव भड्काउने र अफवाह फैलाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

नेपाल प्रहरीको साइबर ब्युरो भोटाहिटीका अनुसार नेपालखवर टिभी नामक युट्युब च्यानलमार्फत भ्रामक र उत्तेजक भिडियो प्रसारित गरी सामाजिक सद्भाव बिगारेको अभियोगमा ३९ वर्षीय जनक भुसाललाई पक्राउ गरिएको हो।

अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं. ९ स्थायी घर भई हाल रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका वडा नं. १३ बस्ने भुसाललाई इलाका प्रहरी कार्यालय बुटवलको सहयोगमा साउन १६ गते बुटवलबाटै नियन्त्रणमा लिइएको हो।

ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिलीप कुमार गिरीका अनुसार उनीमाथि युट्युबमा फलोअर्स बढाउने र आर्थिक उपार्जन गर्ने नियतले राज्यको विद्यमान परिवेशलाई असर पार्ने गरी भ्रामक र अफवाहयुक्त सामग्री तयार पारेको, जातीय तथा धार्मिक हिंसात्मक र ध्वंसात्मक गतिविधिमा संलग्न समूहहरूलाई उत्तेजित तथा आक्रामक बनाएको आरोपमा अनुसन्धानका लागि पक्राउ गरिएको हो।

ब्युरोको विज्ञप्तिमा कानुनले प्रकाशन तथा प्रदर्शन गर्न रोक लगाएका र द्वेष तथा घृणा फैलाउने सामग्री प्रसारण गरेको र विभिन्न जातजाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धमा खलल पुर्याउने कार्य गरेको थप आरोप समेत उल्लेख छ।

पक्राउ परेका भुसालमाथि विद्युतीय कारोबार ऐनको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट ७  दिनको म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भइरहेको साइबर ब्युरोले जनाएको छ।

साउन १७, २०८३ आइतबार १९:३८:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।