विभाजनको संघारमा कांग्रेस, नेतालाई मिलाउन युवा नेताको दबाबमूलक अभियान

विभाजनको संघारमा कांग्रेस, नेतालाई मिलाउन युवा नेताको दबाबमूलक अभियान

काठमाडौं : नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद विभाजन उन्मुख बनेपछि युवा नेताहरूले पार्टीलाई एकताबद्ध बनाउन दबाबमूलक ‘देश र कांग्रेस जोड्ने अभियान’ सुरु गरेका छन्।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर नेविसंघका पूर्वअध्यक्षद्वय नैनसिंह महर र रन्जित कर्णसहितका युवा नेताहरूले ‘राष्ट्रका लागि कांग्रेस, कांग्रेसका लागि एकता’ भन्ने नाराका साथ पार्टीलाई विभाजनबाट जोगाउन बाबमूलक एकता अभियान सुरु गरेका हुन्। 

पूर्वअध्यक्ष महरले पार्टीभित्र लामो समयदेखि बढ्दै गएको मतभेद, अविश्वास र आन्तरिक किचलोका कारण संगठन कमजोर बन्दै गएको बताए। कांग्रेस अहिले पार्टी एकताको गम्भीर परीक्षणबाट गुज्रिरहेको बताउँदै उनले एकताबिना लोकतन्त्र सुदृढ हुन नसक्ने धारणा राखे।

"लामो समयदेखि पार्टीभित्र देखिएको मतभेद, अविश्वास र आन्तरिक किचलोले संगठनलाई कमजोर बनाएको छ। आज पार्टी एकताको गम्भीर परीक्षणबाट गुज्रिरहेको छ," उनले भने, "नेपालको राजनीतिक इतिहासले एउटा सत्य पटक-पटक प्रमाणित गरेको छ, जब नेपाली कांग्रेस कमजोर हुन्छ, लोकतन्त्र कमजोर हुन्छ। जब कांग्रेस विभाजित हुन्छ, लोकतान्त्रिक शक्तिहरू र राष्ट्रिय हितमाथि प्रतिगामी शक्तिहरू हाबी हुने वातावरण बन्छ।"

उनका अनुसार कांग्रेसको एकता कुनै दलगत स्वार्थको विषय नभई लोकतन्त्रको रक्षा र राष्ट्रको स्थायित्वसँग जोडिएको राष्ट्रिय दायित्व हो।

"त्यसैले कांग्रेसको एकता कुनै दलगत स्वार्थको विषय होइन, यो लोकतन्त्रको रक्षा र राष्ट्रको स्थायित्वसँग जोडिएको राष्ट्रिय दायित्व हो," उनले भने, "दुर्भाग्यवश, यतिबेला देश अनेकौं चुनौतीबाट गुज्रिरहेको छ। सुनसरीबाट सुरु भएको साम्प्रदायिक तनाव मदेसका विभिन्न जिल्लासम्म फैलिँदा नेपाली नागरिकहरूले ज्यान गुमाएका छन्, अब मूल्य बराबरको धन सम्पत्तिमा क्षति पुगेको छ र नेपाली समाजको सद्भावमाथि चोट पुगेको छ।"

देश अहिले विभिन्न चुनौतीबाट गुज्रिरहेको उल्लेख गर्दै उनले सुनसरीबाट सुरु भएको साम्प्रदायिक तनाव मदेसका विभिन्न जिल्लासम्म फैलिँदा नागरिकले ज्यान गुमाएको, ठूलो धन सम्पत्तिमा क्षति पुगेको र सामाजिक सद्भावमा समेत आघात पुगेको बताए।

साथै आर्थिक मन्दी, बेरोजगारी, युवाको बढ्दो पलायन, सुशासनको संकट र जनजीविकाका समस्या दिनप्रतिदिन गम्भीर बन्दै गएको उनको बताए। 

त्यस्तै, अर्का नेता रन्जित कर्णले देश असहज अवस्थामा पार्टी विभाजित गर्न नहुने धारणा राखे। "आम जनताको मन रोएको बेला कांग्रेसलाई जोड्नुपर्ने आवश्यकता छ। कांग्रेस आन्तरिक रूपमा कमजोर र विभाजन भयो भने देश कमजोर हुन्छ। यस्तो बेला कांग्रेस एक ढिक्का हुनै पर्छ," उनले भने।

कार्यक्रममा नेताहरूले कांग्रेसभित्र देखिएको संस्थापन र इतर भनिएको पक्षलाई एकताबद्ध हुन आग्रह गरे। 

साउन १७, २०८३ आइतबार १३:५७:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।