आगामी निर्वाचनपछि बाग्मतीमा उज्यालो नेपालको सरकार बन्ने घिसिङको दाबी
काठमाडौं : उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो दल कुनै पनि राजनीतिक शक्तिसँग विलय नहुने भन्दै अन्य शक्तिहरूलाई समेटेर देशको नेतृत्व लिने बताएका छन्।
शनिबार पार्टी दोलखा-काठमाडौं सम्पर्क समितिद्वारा आयोजित पार्टीको प्रशिक्षण तथा प्रवेश कार्यक्रममा उनले उज्यालो नेपाल पार्टी कसैको लाचार छाया नबन्ने र आफ्नो छुट्टै अस्तित्वसहित अघि बढ्ने बताए।
उनले भने, "उज्यालो नेपाल पार्टी बरु एक्लै रहन्छ, कुनै पार्टीसँग मिसिँदैन। कुनै पनि हालतमा कुनै पार्टीसँग मिल्दैन। बरु यो पार्टीसँग अरू पार्टी मिसिन आउने वातावरण हामी बनाउँदैछौं। धेरै पार्टीका साथीहरू उज्यालो नेपाल पार्टीमा सहभागी हुन हामीसँग छलफलमा हुनुहुन्छ। देशव्यापी रूपमा उज्यालो नेपाल पार्टीप्रतिको आकर्षण बढ्दो छ र यो क्रम अझ बढ्दै जानेछ।"
उज्यालो नेपालले भविष्यमा देशको नेतृत्व गर्ने दाबी गर्दै घिसिङले हरित क्रान्तिमार्फत मुलुकलाई समृद्धितर्फ लैजाने एक मात्र पार्टी आफ्नो भएको बताए।
"तपाईंहरू ढुक्क भएर बस्नुस्। उज्यालो नेपाल पार्टीले आगामी दिनमा यो देशको नेतृत्व गर्नेछ। हरित क्रान्ति गरेर देशलाई समृद्ध बनाउने पार्टी यही हो। पार्टी हराउँछ कि भन्ने कुनै निराशा लिनु पर्दैन," उनले भने।
बाग्मती प्रदेशमा पार्टीको प्रभाव तीव्र रूपमा बढिरहेको दाबी गर्दै उनले भने, "दोलखा मात्र होइन, बाग्मती प्रदेश नै उज्यालो नेपालको किल्ला बन्ने चरणमा पुगेको छ। हामी बाग्मती प्रदेशमा सरकार बनाउँछौं र त्यसपछि देशव्यापी रूपमा पनि उज्यालो नेपाल पार्टीको सरकार बन्ने क्रममा अघि बढ्नेछ।"
आगामी स्थानीय तह निर्वाचनमा पार्टीको सशक्त उपस्थिति रहने उल्लेख गर्दै घिसिङले त्यसपछिको निर्वाचनबाट उज्यालो नेपाल पार्टीले देशको नेतृत्व गर्ने दाबी गरे। वर्तमान सरकार पाँच वर्ष टिक्ने भनिए पनि पाँच महिनामै अस्थिरताको संकेत देखिएको उनको टिप्पणी थियो।
"अहिले पाँच वर्षको सरकार भनिएको छ, तर पाँच महिनामै सरकार टिक्ने अवस्था कमजोर देखिइसकेको छ। हामीले पाँच वर्ष नै कुर्नुपर्छ जस्तो लाग्दैन। त्यसैले उज्यालो नेपाल पार्टी अब देशको विकल्पका रूपमा स्थापित हुँदै अघि बढिरहेको छ," उनले भने।
साउन १६, २०८३ शनिबार १८:५७:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।