धनुषामा श्रीमान्–श्रीमती मृत फेला
जनकपुरधाम : धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती शङ्कास्पद अवस्थामा मृत फेला परेका छन्।
प्रहरीका अनुसार माइतीघरमा बस्दै आएकी ३० वर्षीया रीना देवी यादवको घाँटीमा धारिलो हतियार प्रहार भएको घाउ देखिएको छ। उनका श्रीमान् ३५ वर्षीय उमेश यादव घरदेखि करिब एक किलोमिटर टाढा रूखमा झुण्डिएको अवस्थामा आज बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाको प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।
केही दिनअघि मात्रै वैदेशिक रोजगारीबाट फर्केका मिथिला बिहारी–४ भरतपुरका उमेश घटनाको अघिल्लो दिन मात्र ससुराली गएका थिए। घटनामा उनीहरूका ४ वर्षीय छोराको तिघ्रामा समेत धारिलो हतियारको चोट लागेको छ।
प्रहरी नायब उपरीक्षक खनालले घटनाको प्रकृति शङ्कास्पद देखिएको बताए। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।
कात्तिक ८, २०८३ आइतबार १०:१२:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।