कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधन

कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधन

काठमाडौं : पाकिस्तानको ब्रडपिक आरोहणका क्रममा हिम पहिरोमा परेर हराएका विश्व चर्चित नेपाली मूलका आरोही निर्मल पुर्जासहित चार नेपाली पर्वतारोहीको मृत्यु भएको छ।

पुर्जाको कम्पनी एलिट एक्सपिडिसनले पुर्जासहित हिम पहिरोमा हराएका सबैको मृत्यु भएको आफ्नो फेसबुक पेजमा राखेको सन्देशमा उल्लेख छ।

नेपालीसहित १० जना रहेकोमा बिहीबार आएको हिम पहिरोमा सबै हराएका थिए। शुक्रबारको खोजमा एक नेपालीसहित तीन जनाको शव फेला परेको थियो।

ड्रोनबाट सो क्षेत्रमा अन्य छ जना देखिए पनि उनीहरूको अवस्था यकिन हुन सकेको थिएन। नेपालबाट सांसदसमेत रहेका अर्का पर्वतारोही पुर्जासहितको खोजीका लागि पाकिस्तान गएका थिए।

कम्पनीले सार्वजनिक गरेको शोक विज्ञप्तिमा गहिरो दुःख र पीडाका साथ ब्रड पिकमा गएको हिम पहिरोपछि निर्मल ‘निम्सदाइ’ पुर्जाले दुःखद रूपमा ज्यान गुमाएको' उल्लेख छ।

म्याग्दीमा जन्मिएर चितवन बसाई सरेका पुर्जा बेलायत गएर सेनामा भर्ना भएका थिए। पछि उनले हिमाल आरोहण सुरु गरेर विभिन्न विश्व रेकर्ड राखेका थिए। नेटफ्लिक्समा उनको डकुमेन्ट्री आएपछि विश्व चर्चित भएका थिए।

दोहोरो नागरिकता लिएको सार्वजनिक भएपछि उनले तीन वर्ष अगाडि नेपाली नागरिकता त्यागेका थिए। निम्समाथि महिला आरोहीमाथि यौन दुर्व्यवहार गरेको आरोपसहित द न्यूयोर्क टाईम्समा समाचार प्रकाशित भएको थियो।

उनले आरोप अस्वीकार गर्दै कानुनी प्रक्रियामा जाने बताएका थिए। विवादमा आए पनि उनले पर्वतारोहण भने छाडेनन्। त्यही क्रममा उनी पाकिस्तान गएका थिए। बिहीबार अकस्मात् आएको हिम पहिरोमा पर्दा अल्पायुमै उनको ज्यान गयो।

सो आरोहणमा नेपाली नागरिक पुरबहादुर गुरुङ. किली पेम्बा शेर्पा, निमा शेर्पा, नवाङ थेन्दु शेर्पा, ग्यालु शेर्पा पनि संलग्न थिए। अन्यमा पुर्जासहित अमेरिकी,ओमानी, चिनिया र पाकिस्तानी आरोही संलग्न थिए।

साउन १६, २०८३ शनिबार १७:४७:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।