पाकिस्तानको हिम पहिरोमा हराइरहेका पर्वतारोही निर्मल पुर्जा नेपाली नागरिक कि बेलायती ?
काठमाडौं : पाकिस्तानको ८,०५१ मिटर अग्लो ब्रड पिक आरोहणकोक्रममा आएको हिम पहिरोमा परेर बेपत्ता भएका रेकर्डधारी आरोही निर्मल पुर्जासहित ७ जनाको अवस्था अझै अज्ञात छ। पाकिस्तानी अधिकारीहरूले एक नेपालीसहित तीन जनाको शव फेला परेको पुष्टि गरिसकेका छन्।
नेपाली आरोही पुरबहादुर गुरुङ र ओमानकी नधिरा अहमद अब्दुल्लाह अल हार्थीको शव फेला परेको छ। उद्धार टोलीले दुवै शव संकलन गरिसकेका छन्। अमेरिकी आरोही सारा म्यालोरीको शरीरका अवशेष फेला परेको छ। शुक्रवारबाट खोजी सुरु भए पनि मौसमले साथ नदिँदा उद्धार प्रक्रिया रोकिएको थियो। शनिवारबाट उद्धार प्रक्रिया सुरु भएको जनाइएको छ।
पाकिस्तानले आधिकारिक रूपमा सार्वजनिक गरेको विवरणमा १० जना आरोहीमध्ये पाँच जना नेपाली छन्। अन्यमा अमेरिकी, बेलायती, ओमनी, चिनिया र पाकिस्तानी छन्। तर संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जारी गरेको सूचीमा भने नेपालीको संख्या ६ उल्लेख गरिएको छ।
पाकिस्तानको आधिकारिक निकायले सार्वजनिक गरेको आरोही र उनीहरूको राष्ट्रियतामा विश्व रेकर्डधारी निर्मल पुर्जालाई बेलायती नागरिक उल्लेख गर्दै उनको पासपोर्ट नम्बर समेत सार्वजनिक गरेको छ। नेपालले पनि पुर्जाको नाम नेपाली नागरिकको सूचीमा राखेको छ।
मन्त्रालयले शुक्रवार जारी गरेको सूची अनुसार सो दुर्घटनामा पुरबहादुर गुरुङ. किली पेम्बा शेर्पा, निमा शेर्पा, नवाङ थेन्दु शेर्पा, ग्यालु शेर्पा र निर्मल पुर्जाको नाम छ।
पुर्जा नेपाली कि बेलायती?
पाकिस्तानी अधिकारीहरूले हराइरहेका आरोहीको नाम र राष्ट्रियतासँगै राहदानी नम्बरसमेत सार्वजनिक गरेको छ। सो सूचीमा निर्मल बेलायती नागरिक रहेको र उनको राहदानी नम्बर १२८२४७७९६ हो। पर्यटन मन्त्रालयले सार्वजनिक गरेको सूचीमा केवल नाम मात्र छ। यसले पुर्जा नेपाली नागरिक हुन् या बेलायती भन्ने प्रश्न उठेको देखिन्छ।
चितवनका पुर्जा बेलायत गएर बेलायती सेनामा भर्ना भएका थिए। पछि उनी आरोहणमा लागेर विश्व रेकर्डहरू बनाएका थिए। उनी विश्वविख्यात भएसँगै उनको बारेमा नेटफ्लिक्समा डकुमेन्ट्री समेत रिलिज भयो। त्योसँगै उनले हिमाल आरोहण सम्बन्धी नेपाल इलाइट कम्पनी सुरु गरे। उनले निम्सदाई नामक ब्रान्डमा आरोहण सम्बन्धी सामग्रीहरूको उत्पादन समेत सुरु गरेका थिए।
तीन वर्ष अगाडि उनको कम्पनीको कपनमा रहेको कार्यालयको घरमा शंकास्पद विस्फोट भयो। प्रारम्भमा आगलागीको घटना देखिए पनि अनुसन्धानमा शंकास्पद सामग्री फेला परेको थियो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले यसबारे अनुसन्धान सुरु गरे पनि अझैँ टुङ्गोमा पूर्याएको छैन।
उकेराले तीन वर्ष अगाडि काठमाडौंको कपनमा रहेको घरमा भएको त्यही घटनाको विस्तृत रिपोर्टिङ गर्दा निर्मल पुर्जाले नेपाली नागरिकको हैसियतमा कम्पनी खोलेको र कम्पनीमा हालका रास्वपा सांसद मिङमा डेबिट शेर्पासहित तीनजना सञ्चालक रहेको र त्यसमा सबैभन्दा धेरै शेयर रहेको खुल्यो।
खोजीकै क्रममा उनीसँग बेलायतको पासपोर्ट र नागरिकको पहिचानसमेत रहेको खुल्यो। उकेराले प्राप्त गरेको प्रमाण अनुसार उनले सन् २०१२ जुन २८ मा बेलायती पासपोर्ट बनाएका थिए। सो पासपोर्टमा उनको राष्ट्रियता बेलायत उल्लेख छ।
म्याग्दी जन्मस्थान र नागरिकता नम्बर १..९ राखेर उनले राहदानी विभागबाट सन् २०१६ मा राहदानी निकालेको खुल्यो जसको म्याद १० वर्ष थियो। उनको नागरिकता र राहदानी दुवै सक्रिय थियो।
उनले नेपालको राहदानी कानुन अनुसार दोस्रो देशको नागरिक बन्दा नेपाललाई जानकारी दिएर नागरिकता निष्क्रिय गराउनु पर्ने कानुनी प्रक्रिया पुरा नगरेको र आफू अनुकूल कतै बेलायती नागरिक त कतै नेपाली नागरिकको पहिचान देखाएर आरोहण गर्ने गरेको खुल्यो।
यस अगाडि उकेराले यस्तै प्रकृतिको रवि लामिछानेको राहदानी विवादबारे समाचार प्रकाशित गरेको थियो। सो समाचारको प्रभावका कारण सर्वोच्च अदालतमा रिट दायर भयो र संवैधानिक इजलासबाट नेपालको राहदानी कानुन अनुसार कुनै नेपाली दोस्रो देशको नागरिक बने त्यही मितिदेखि नेपालको नागरिकता निष्क्रिय हुने फैसला गरेको थियो।
प्रमाणसहित उकेराले समाचार प्रकाशित गरेपछि बेलायतमा रहेका निर्मल पुर्जाले बेलायतस्थित नेपाली दूतावासमा आफू बेलायतको नागरिक बनेको भन्दै नेपाली नागरिकता त्यागेको निवेदन दिएका थिए। त्यही प्रक्रिया अनुसार जिल्ला प्रशासन कार्यालयले उनको नेपाली नागरिकता निष्क्रिय बनाएको थियो।
यी सबै तथ्यले निर्मल नेपाली मूलका बेलायती नागरिक रहेको पुष्टि हुन्छ। तर नेपालको पर्यटन मन्त्रालय र केही नेपाली मिडियाहरूले पाकिस्तानमा भएको दुखद घटनाबारे पुर्जाबारे उल्लेख गर्दा उनी नेपाली नागरिक भएको उल्लेख गरिरहेका छन्।
साउन १६, २०८३ शनिबार १५:२७:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।