नागार्जुनबासीलाई धितोबिना २ लाखसम्म कर्जा, मुक्तिनाथ विकास बैंक र नगरपालिकाबीच शतप्रतिशत ब्याज अनुदान सम्झौता

नागार्जुनबासीलाई धितोबिना २ लाखसम्म कर्जा, मुक्तिनाथ विकास बैंक र नगरपालिकाबीच शतप्रतिशत ब्याज अनुदान सम्झौता

काठमाडौं : मुक्तिनाथ विकास बैंक लिमिटेड र नागार्जुन नगरपालिकाबीच स्थानीय उद्यमीहरूलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने सम्झौता भएको छ।

नगरभित्र कृषि, पर्यटन, साना तथा मझौला उद्योग र महिला उद्यमशीलतामार्फत रोजगारी सिर्जना गर्ने उद्देश्यले यो सम्झौता गरिएको हो।

सम्झौताअनुसार नगरपालिकाको सिफारिसमा योग्य उद्यमीहरूले बिनाधितो अधिकतम २ लाख रुपैयाँसम्म कर्जा प्राप्त गर्न सक्नेछन्।

नगरपालिकाको ‘सहुलियतपूर्ण ब्याज अनुदानसम्बन्धी कार्यविधि, २०८०’ बमोजिम ऋणीहरूलाई शतप्रतिशत ब्याज अनुदान उपलब्ध गराइनेछ। यसको अर्थ ऋणीले कर्जाको ब्याज तिर्नुपर्ने छैन, ब्याजको सम्पूर्ण भार नगरपालिकाले व्यहोर्नेछ।

​​​​​​​सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकका कृषि तथा समावेशी लगानी विभाग प्रमुख तेजबहादुर गिरी र नागार्जुन नगरपालिकाकी कार्यवाहक नगरप्रमुख सुशीला अधिकारीले हस्ताक्षर गरेका छन्।

यस सहकार्यबाट स्थानीय स्तरमा उद्यमशीलता विकास, वित्तीय पहुँच विस्तार र दिगो आर्थिक विकासमा ठूलो सहयोग पुग्ने बैंकले जनाएको छ।

साउन १६, २०८३ शनिबार १३:०५:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।