तीन लाख घुससहित लगनखेल मालपोतका तीन नासु र दुई लेखापढी व्यवसायी पक्राउ
ललितपुर : जग्गाको बकसपत्र पास गराइदिने भन्दै सेवाग्राहीसँग मोटो रकम असुल्ने ललितपुरस्थित भूमि प्रशासन (मालपोत) कार्यालय, लगनखेलका तीन जना कर्मचारी र दुई जना लेखापढी व्यवसायी रंगेहात पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरूलाई सेवाग्राहीबाट ३ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा ललितपुर महानगरपालिका-४ स्थित एक होटलबाट नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा मालपोत कार्यालयका नायब सुब्बाहरू उत्तम कुँवर, विशाल सुन्दास र राजकुमार मगर रहेका छन्।
त्यसैगरी, कर्मचारीसँग मिलेमतो गरी सेवाग्राहीसँग बार्गेनिङ गर्ने लेखापढी व्यवसायीहरू शैलेन्द्र रानामगर र समिर कटवाललाई पनि अख्तियारले पक्राउ गरेको छ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार, जग्गाको बकसपत्र गराउन आएका सेवाग्राहीलाई विभिन्न बहानामा दुःख दिई हैरानी पारेर उनीहरूले घुस मागेका थिए।
गोप्य सूचनाका आधारमा टंगालबाट खटिएको अख्तियारको टोलीले साउन १५ गते उनीहरूलाई घुस रकम बाँडफाँड गर्दै गरेको अवस्थामा होटलबाटै पक्राउ गरेको हो।
घुसबापत लिएको ३ लाख रुपैयाँका अलावा उनीहरूको साथबाट स्रोत नखुलेको थप २४ हजार ८९० रुपैयाँ पनि बरामद भएको अख्तियारले जनाएको छ।
पक्राउ परेका पाँचै जनामाथि अख्तियारको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ।
साउन १६, २०८३ शनिबार ११:४२:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।