ललितपुरबाट घुससहित भूमि प्रशासन कर्मचारी र लेखापढी व्यवसायी पक्राउ
काठमाडौं : जग्गाको बकसपत्र गराउने कामका लागि दुःख हैरानी दिई सेवाग्राहीसँग तीन लाख घुस मागेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय लगनखेलका कर्मचारी र लेखापढी व्यवसायीसहित ५ जनालाई नियन्त्रणमा लिएको छ।
सेवाग्राहीलाई दुःख-हैरानी दिई घुस मागेको उजुरीका आधारमा खटिएको अख्तियारको टोलीले उनीहरूलाई ललितपुर महानगरपालिका-४ स्थित एक होटलबाट शुक्रबार पक्राउ गरेको हो।
पक्राउ पर्नेमा कार्यालयका नायबसुब्बा उत्तम कुँवर, विशाल सुन्दास, राजकुमार मगर र लेखापढी व्यवसायी शैलेन्द्र रानामगर र समीर कटवाल रहेका छन्।
आयोगका प्रवक्ता सुरेश न्यौपानेले आयोगको टोलीले तीन लाख घुस/रिसवतबापतको रकम र स्रोत नखुलेको २४ हजार ८९० सहित ललितपुर महानगर वडा नं ४ स्थित एक होटलबाट शुक्रबार नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जानकारी दिए।
साउन १६, २०८३ शनिबार १०:५९:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।