मृतक गणेश यादवको परिवारसँग सरकारको आठबुँदे सहमति

मृतक गणेश यादवको परिवारसँग सरकारको आठबुँदे सहमति

जनकपुरधाम : सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका गणेश यादवको परिवारसँग सरकारले आठबुँदे सहमति गरेको छ।

लहानमा जिल्ला सुरक्षा समितिको बैठक सकेर गए राति औरही गाउँपालिका-तुलसीयाहीस्थित मृतकको घरमै पुगेका गृहमन्त्री सुधन गुरुङले पीडित परिवारसँग उक्त सहमति गरेका हुन्।

पीडित परिवार र गृहमन्त्रीबीच भएको छलफलपछि घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्ने र परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएको छ।

यसैगरी, सरकारले मृतकका परिवारका सदस्यलाई निःशुल्क शिक्षा र एक जनालाई रोजगारीको सुनिश्चितता गर्नेछ भने मृतकका बुबाआमाको आजीवन निःशुल्क उपचार गरिदिनेछ।

छलफलका क्रममा गृहमन्त्री गुरुङले छानबिनमा कुनै कमजोरी हुन नदिने र दोषीलाई कानुनबमोजिम कारबाही गरेरै छाड्ने प्रतिबद्धता जनाएका थिए।

सुनसरीको देवानगञ्ज घटनाको विरोधमा साउन १४ गते गोलबजारमा भएको प्रदर्शनका क्रममा गोली लागेर यादवको ज्यान गएको थियो।

साउन १६, २०८३ शनिबार ०७:१७:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।