शान्ति र संवादको लयमा फर्किने प्रयासमा मधेश, प्रहरीले बदल्यो सुरक्षा रणनीति

शान्ति र संवादको लयमा फर्किने प्रयासमा मधेश, प्रहरीले बदल्यो सुरक्षा रणनीति

काठमाडौँ : केही दिनदेखि अशान्त बनेको तराई-मधेसका जिल्ला र सुनसरीको वातावरण बिस्तारै सामान्य र शान्तिपूर्ण लयमा फर्किन थालेको छ। छिटपुट विरोध र कतिपय स्थानमा स्थानीय प्रशासनले लगाएको कर्फ्यु तथा निषेधाज्ञाबाहेक स्थिति सामान्यतर्फ फर्कँदै गरेको देखियो। 

आइतबार बेलुका सुनसरीको एक घटनाबाट पूर्वी नेपालको सुनसरीसहित चार जिल्लामा सुरु भएको हिंसात्मक घटना र उग्र प्रदर्शन शुक्रवार थामियो। शुक्रवार पनि केही स्थानमा विरोध प्रदर्शन नभएका हैनन्। तर प्रदर्शन उग्र भएन। सुरक्षाकर्मीले बल प्रयोग गर्नु परेन।

बिहीबारबाट प्रधानमन्त्री वालेन्द्र शाह आफैँ सक्रिय भएर भेटघाट र सम्बोधन गरेका थिए। उनले छलफलकोक्रम शुक्रवार पनि जारी राखे। अप्रिय घटनाहरू दोहोरिन नदिन, शान्ति-सुरक्षा सुदृढ बनाउन र सामाजिक सद्भाव कायम राख्न सरकार, राजनीतिक दल, सुरक्षा निकाय र धार्मिक अगुवाहरू सतर्कताका साथ सक्रिय देखिए।

पीडितसँग ७ बुँदे सहमति, शव बुझेर अन्तिम संस्कार

पोस्टमार्टमपछि सुनसरीका दुबै मृतकको संस्कारका लागि शव लैजादैँ।सुनसरीको देवानगञ्जमा दुई समूहबीच भएको विवाद र त्यसपछि प्रहरीको गोली लागेर मृत्यु भएका दुई युवाका परिवार र सरकारबीच बिहीबार बेलुका ७ बुँदे सहमति भएको थियो। सहमतिपछि शुक्रबार कोशी अस्पताल विराटनगरमा पोस्टमार्टम दुवैको पोस्टमार्टम गरेर आफन्तले दुवै शव बुझे।

गत आइतबार दुई समूहको विवाद नियन्त्रणमा लिने क्रममा प्रहरीको गोली लागेर ओमप्रकाश मेहताको घटनास्थलमै र उपचारका क्रममा जयप्रकाश मेहताको बिहीबार मृत्यु भएको थियो। सरकार र पीडित पक्षबीच पीडित परिवारलाई राहत दिने, मृतकलाई सहिद घोषणा गर्ने, घटनाको निष्पक्ष छानबिन गर्ने र दोषीमाथि कारबाही गर्ने लगायतका ७ बुँदे सहमति भएको थियो।

बालेनको रणनीति: ‘कडा सुरक्षा, संवाद र निष्पक्ष छानबिन’

तराई-मधेसको परिस्थिति थप बिग्रिन नदिन प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) आफैँ बहुपक्षीय रणनीतिसहित सक्रिय देखिए। बिहीबार बिहानसम्म निष्क्रिय देखिएका उनी बिहीबारबाट एकाएक सक्रिय हुँदै सुरक्षा बैठक, पीडितलाई सम्बोधन, सद्भावको अपिलमा सक्रिय भए। उनले बिहीबारै राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका थिए। उपराष्ट्रपतिलाई फोनबाट घटनाबारे जानकारी गराएका थिए।

शुक्रवार दिनभर उनी छलफलमै देखिए। शुक्रबार उनले मधेस केन्द्रित दलका नेतृत्वसँग छलफल गरे। त्यसपछि मधेश प्रदेशका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूसँग छलफल गरे। भेटमा उनले राज्य संयन्त्रका सम्पूर्ण अंगहरू उच्च सतर्कताका साथ परिचालित भइसकेकाले नागरिकलाई विचलित नहुन र संयमता अपनाउन आग्रह गरेका थिए। नागरिकलाई सुरक्षाको प्रत्याभूति गराउने, प्रभावितसम्म पुग्ने र घटनाको निष्पक्ष छानबिन गर्ने सरकारको मुख्य प्राथमिकता रहेको उनले बताएका थिए।

प्रधानमन्त्री कार्यालयमा शुक्रवार छलफलमा प्रधानमन्त्री वालेन्द्र।मधेश केन्द्रित दलका नेताहरूसँगको छलफलमा बालेनले आफूलाई संघीयता विरोधी नबुझ्न भन्दै प्रदेशलाई बलियो बनाउने र संरचनामा सुधार गर्न खोजिएको बताएका थिए। 

प्रहरीको सक्रियता : ३६ जना पक्राउ, १५ उच्च अधिकृत फिल्डमा

शुक्रवारबाट प्रहरीले पनि आफ्नो रणनीति बदल्दै सामाजिक सञ्जालहरूमा अफवाह फैलाउन संलग्नहरूलाई पक्राउकोक्रम सुरु गर्यो। शुक्रवार सामाजिक सद्भावमा खलल पुर्याएको र अशान्ति फैलाएको आरोपमा मधेसका पाँच जिल्लाबाट ३६ जनालाई नियन्त्रणमा लिइएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार धनुषाबाट १९, सर्लाहीबाट ९, सिरहाबाट ५, महोत्तरीबाट २ र पर्साबाट १ जना पक्राउ परेका छन्।

मधेस प्रदेशको प्रहरीले अपिल जारी गर्दै अभिभावकहरूलाई आफ्ना सन्तानलाई प्रदर्शनमा सहभागी हुन नदिन आग्रह गर्यो। यता केन्द्रले सुरक्षा रणनीति बदल्दै मधेसमा उच्चतहका सुरक्षा अधिकारीहरू परिचालन गर्यो।

प्रहरी प्रधान कार्यालयले एआईजी र डिआइजीसहित १५ जना उच्च प्रहरी अधिकृतहरूलाई शुक्रवार तराई-मधेसका विभिन्न जिल्लामा खटायो। प्रधान कार्यालयका अनुसार एआईजीहरू सिद्धिविक्रम शाह (बाँके), हिमालय कुमार श्रेष्ठ (मधेश प्रदेश), उमा प्रसाद चतुर्वेदी (कपिलवस्तु), र ईश्वर कार्की (कोशी प्रदेश) मा खटाइएको छ।

डिआइजीहरू दिनेश कुमार आचार्य (सिरहा) र अबि नारायण काफ्ले (सप्तरी) मा खटाइयो। त्यसैगरि एसएसपीहरूलाई पर्सा, सर्लाही, रौतहट, महोत्तरी, बारा, मोरङ, धनुषा लगायतका जिल्लामा परिचालन गरिएको छ।

सिरहामा केही तनाव, पर्सामा निषेधाज्ञा निरन्तर

सिरहाको औरही गाउँपालिका–२ तुलसियाहीमा प्रदर्शनका क्रममा गोली लागेर मृत्यु भएका १५ वर्षीय गणेश यादवको घरअगाडि केही समय तनाव सिर्जना भयो। गृहमन्त्री सुधन गुरुङ पीडित परिवारलाई भेट्न जाने तयारी गरेपछि सुरक्षा टोली र स्थानीयबीच भिडन्तजस्तै अवस्था बनेको थियो। स्थानीयले आन्दोलनका क्रममा पक्राउ परेकाहरूको रिहाइको माग गर्दै विरोध जनाएका थिए।

सुनसरी घटनाको राप पर्सामा पनि पर्न थालेपछि जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज महानगरका मुख्य क्षेत्रहरूमा शुक्रबार साँझ ५ बजेदेखि शनिवार बिहान ६ बजेसम्मका लागि पुनः निषेधाज्ञा जारी गर्यो। 

राष्ट्रपतिदेखि विपक्षी दलसम्म सक्रिय

प्रथम राष्ट्रपती र उपराष्ट्रपतीसँग छलफल गर्दै राष्ट्रपती पौडेल।शुक्रवार मधेसका जिल्लाहरू र सुनसरीमा शान्ती बहाली गर्न राष्ट्रपति पौडेलदेखि विपक्षी दलका नेताहरू समेत सक्रिय रहे। राष्ट्रपति पौडेलले प्रथम राष्ट्रपति डा रामवरण यादव र प्रथम उपराष्ट्रपति परमानन्द झासँग मधेसको समस्याबारे छलफल गरेका थिए।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले मधेसका स्थानीय सरकारका प्रतिनिधीहरुसँग समस्या समाधानबारे छलफल गर्दै सामाजिक सद्भाव र शान्तिपूर्ण वातावरण फर्काउन सक्रिय हुन निर्देशन दिएका थिए।

उता नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्य संयोजन समितिको बैठकले मधेसमा भएका घटनाप्रति दुःख व्यक्त गर्दै निष्पक्ष छानबिन आयोग गठन गर्न सरकारसँग माग गर्यो। संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षता र सहसंयोजक माधवकुमार नेपालको सञ्चालनमा बसेको बैठकले केवल प्रशासनिक र शक्ति प्रयोगमा मात्र केन्द्रित नभई राजनीतिक संवादमार्फत समाधान खोज्न सरकारलाई आग्रह गरेको थियो।

धार्मिक अगुवाहरूको संयुक्त अपिल: "सद्भाव भड्काउने प्रयास विफल पारौँ"

तराईमा धार्मिक तथा सामाजिक सद्भाव खलबल्याउने प्रयास भइरहेका बेला विभिन्न धार्मिक संगठनका अगुवाहरूले संयुक्त अपिल जारी गर्दै संयम रहन आग्रह गरे। विश्व हिन्दु महासंघका महासचिव रामचन्द्र तिवारी, जमिअत उलमा ए नेपालका अध्यक्ष मोहम्मद खालिद सिद्धिकी, अल सलाम सोसाइटीका अध्यक्ष नजरुल हसन फलाही लगायतका प्रतिनिधिहरूले सिंहदरबारमा संवाद गरी संयुक्त विज्ञप्ति जारी गरेका थिए। 

उनीहरूले कुनै पनि धर्मले विभेदको सन्देश नदिने भन्दै परापूर्वकालदेखिको सामाजिक एकता र भाइचारा जोगाउन सम्पूर्ण नागरिक, सञ्चारमाध्यम र स्थानीय प्रशासनलाई सहकार्यको आह्वान गरे।

साउन १५, २०८३ शुक्रबार २०:५५:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।