सरकारसँग ६ बुँदे सहमतिपछि परिवारको जिम्मामा लगाइयो कप्तानगञ्ज घटनाका मृतकको शव

सरकारसँग ६ बुँदे सहमतिपछि परिवारको जिम्मामा लगाइयो कप्तानगञ्ज घटनाका मृतकको शव

विराटनगर : सुनसरीको देवानगञ्ज गाउँपालिका- ३ कप्तानगञ्जमा आइतबार राति भएको विवादका क्रममा गोली लागेर मृत्यु भएका दुई युवकको शव शुक्रबार पोस्टमार्टमपछि परिवारको जिम्मा लगाइएको छ। 

 सरकार र पीडित पक्षबीच ६ बुँदे सहमति भएपछि कानुनी प्रक्रिया पूरा गरी शव अन्त्येष्टिका लागि परिवारको जिम्मा लगाइएको हो। घटनापछि मृतक देवानगञ्ज-४ का २५ वर्षीय ओमप्रकाश मेहता र देवानगञ्ज- ३ का २२ वर्षीय जयप्रकाश मेहताको शव विराटनगरस्थित न्युरो अस्पतालको शवगृहमा राखिएको थियो।

बिहीबार राति सरकार र पीडित पक्षबीच सहमति भएपछि शुक्रबार कोशी अस्पतालमा पोस्टमार्टम गरिएको थियो। मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार पोस्टमार्टमपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी दुवै शव परिवारको जिम्मा लगाइएको छ।

गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा देवानगञ्ज गाउँपालिकाको कार्यालयमा भएको छलफलपछि सरकार र पीडित पक्षबीच औपचारिक सहमति भएको थियो। 

सहमतिअनुसार सरकारले मृतक ओमप्रकाश मेहता र जयप्रकाश मेहतालाई सहिद घोषणा गर्ने प्रक्रिया अघि बढाउने, दुवै परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ राहत उपलब्ध गराउने, घटनाका दोषीमाथि कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाउने, मृतकका परिवारका एक-एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने, छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने तथा मृतकको सम्झनामा स्मृति पार्क निर्माण गर्ने प्रतिबद्धता जनाएको छ।

सहमति पत्रमा पीडित पक्षका तर्फबाट ओमप्रकाश मेहताका बुवा कृष्णदेव मेहता र जयप्रकाश मेहताका तर्फबाट नरेश मेहताले हस्ताक्षर गरेका छन्। सरकारका तर्फबाट गृहमन्त्री गुरुङले हस्ताक्षर गरेका छन्।

गत आइतबार राति कप्तानगञ्जमा दुई पक्षबीच भएको विवाद हिंसात्मक बनेको थियो। सोही क्रममा गोली लागेर घाइते भएका ओमप्रकाशको घटनाकै राति मृत्यु भएको थियो भने जयप्रकाशको उपचारका क्रममा बिहीबार विराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भएको थियो।

प्रहरीका अनुसार उक्त घटनामा गोली लागेर १० जना युवा घाइते भएका थिए भने तीमध्ये दुई जनाको मृत्यु भइसकेको छ। अन्य आठ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी व्यक्ति घाइते भएका थिए।

उक्त घटनापछि सुनसरीका विभिन्न स्थानमा आगजनी, तोडफोड, लुटपाट तथा व्यक्ति लक्षित आक्रमणका घटना भएपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो। पछिल्ला दिनमा अवस्था क्रमशः सामान्य बन्दै गएको भए पनि घटनाको प्रभाव मधेश प्रदेशसम्म फैलिएको थियो। सिरहामा भएको प्रदर्शनका क्रममा एक किशोरको समेत मृत्यु भएको थियो। 

साउन १५, २०८३ शुक्रबार २०:४४:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।