पाकिस्तानको ब्रोड पिकमा हराएका १० मध्ये ४ जनाको शव भेटियो, निर्मल पुर्जाको अवस्था खुलेन
काठमाडौं : पाकिस्तानको काराकोरम पर्वत शृङ्खलाको ब्रोड पिकमा बिहीबार आएको हिमपहिरोपछि बेपत्ता भएका निर्मल पुर्जासहित १० जना आरोहीमध्ये चार जनाको शव भेटिएको छ।
शुक्रवारबाट खोजी सुरु गरे पनि खराब मौसमका कारण बिहीबार रातभरका लागि खोज तथा उद्धार कार्य रोकिएको र शनिवार पुनः सुरु गरिने पाकिस्तानी अधिकारीहरुलाई उद्धृत गर्दै बिबिसीले लेखेको छ।
मृतकहरूमध्ये नेपालका पुरबहादुर गुरुङ र ओमानका नाधिरा अहमद अब्दुल्ला अल हार्थीको शवको पहिचान भए पनि अन्य २ जनाको पहिचान हुन सकेको छैन। 'निम्स दाइ' को नामले परिचित नेपालीमूलका चर्चित पर्वतारोही निर्मल पुर्जा बेपत्ता टोलीमै रहेको पुष्टि भए पनि उनको अवस्था भने पुष्टि भएको छैन।
नेपालीमूलका आरोही पुर्जा बेलायती सेनामा भर्ना भएर पछि नेपाल आएर पर्वतारोहणमा संलग्न भएका थिए। हिमाल आरोहणमा विभिन्न रेकर्ड राखेका उनीसँग दोहोरो नागरिकता र राहदानी रहेको सार्वजनिक भएसँगै उनले नेपाली नागरिकता त्यागेका थिए। पुर्जाको कम्पनी कार्यालय रहेको घरमा भएको विस्फोटको कानुनी विवादमा परेर करिब ३ करोड क्षतिपूर्ति तिरेको थियो।
साउन १५, २०८३ शुक्रबार १९:१३:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।