दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष भण्डारी पक्राउ

दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष भण्डारी पक्राउ

काठमाडौं : स्मार्ट टेलिकम प्रकरणमा अनुसन्धान गर्न नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष भूपेन्द्र भण्डारीलाई पक्राउ गरिएको छ।

निजलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले गए राति ललितपुरको धापाखेलबाट नियन्त्रणमा लिएको ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अनुपशम्शेर जबराले जानकारी दिए।

स्मार्ट टेलिकमको सम्पत्ति गैरकानूनी रूपमा लिलामी गरी सरकारी हक हनन गरेको र संगठित अपराधमा संलग्न रहेको आरोप छ।

हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमतिका लागि ब्युरोले अभियुक्त भण्डारीलाई केहीबेरमा अदालतमा उपस्थित गराउन लागेको प्रवक्ता जबराले बताए। 

नवीकरण नगरेका कारण २०८० वैशाख २ गते स्मार्ट टेलिकमको आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र स्वतः रद्द भएको थियो।

अनुमतिपत्र बहाल नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावलीअनुसार उक्त कम्पनीको सम्पूर्ण पूर्वाधार, संरचना र सञ्चार सञ्जाल नेपाल सरकार वा दूरसञ्चार प्राधिकरणको स्वामित्वमा आएको थियो।

तर, सरकारी स्वामित्वमा आइसकेको उक्त सम्पत्ति नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र एनसेल आजियाटाको मिलेमतोमा गैरकानूनी रूपमा लिलामी गरिएको अनुसन्धानबाट खुलेको छ।

भण्डारीले प्राधिकरणको नेतृत्वमा रहँदा उक्त गैरकानूनी प्रक्रियामा सहयोग गरेको आरोप छ। 

साउन १५, २०८३ शुक्रबार १४:३८:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।