मधेसमा फैलिँदो तनाव रोक्न सरकार गम्भीर बनोस् : राजेन्द्र महतो
काठमाडौं : राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेस प्रदेशमा फैलिँदै गएको तनाव र हिंसात्मक घटना रोक्न राज्यले तत्काल प्रभावकारी भूमिका खेल्नुपर्ने माग गरेका छन्।
मधेसका नेताहरूसँग बिहीबार प्रधानमन्त्री वालेन्द्र शाहले गरेको छलफलपछि सञ्चारकर्मीसँग महतोले सामाजिक सद्भाव बिग्रन नदिन सरकार गम्भीर हुनुपर्नेमा जोड दिए। कुनै पनि विवादले बढ्नु देशको हितमा नहुने उनको भनाइ थियो।
"यो घटना मधेसमा आगोको रूपमा फैलिरहेको छ, त्यसलाई रोक्नुपर्छ। राज्यले रेस्पोन्स नगरेपछि यो रोकिँदैन," उनले अगाडी भने, "मान्छे मान्छेबाट डराउने अवस्था समाजमा आउनु देशको हितमा होइन। सामाजिक सद्भावलाई कुनै पनि हिसाबले कायम गर्नुपर्छ।"
महतोले यसअघि आफूहरूले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बुझाएको आठ बुँदे निर्णयबारे प्रधानमन्त्री शाहलाई समेत जानकारी गराएको बताए। उनले यसअघि गृहमन्त्रीसँग भएको सहमतिलाई रद्दीको टोकरीमा नफाल्न र त्यसलाई अक्षरशः कार्यान्वयन गर्न सरकारसँग आग्रह गरे ।
छलफलमा सहभागी अन्य मधेसी नेताहरूले सरकारी संयन्त्र समयमै सक्रिय नहुँदा सामान्य विवादले उग्र रूप लिएको भन्दै सरकारको आलोचना गरे। घटनाको भोलिपल्टै राज्यको उपस्थिति भएको भए सुनसरीको विवाद अन्य जिल्लामा नफैलिने उनीहरूको दाबी थियो।
साउन १५, २०८३ शुक्रबार १४:३२:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।