त्रिविका उपकुलपति थापा युलेन्स स्कुलका अध्यक्ष पनि ! पूर्णकालीन जिम्मेवारीमाथि स्वार्थको द्वन्द्व
काठमाडौं : वालेन्द्र शाह नेतृत्वको सरकारले गत असार १९ गते त्रिभुवन विश्वविद्यालय (त्रिवि) को उपकुलपतिमा नियुक्त गरेका प्रा. डा. भोला थापा निजी गुठीबाट सञ्चालित ‘युलेन्स स्कुल’ को व्यवस्थापन समितिको अध्यक्षसमेत रहेको खुलेको छ।
त्रिविको उपकुलपति भइसकेपछि पनि युलेन्स स्कुलको वेबसाइटमा थापाको नाम देखिएपछि उकेराले युलेन्स स्कुलका कार्यकारी पदाधिकारी समूहका एक सदस्यसँग जानकारी मागेको थियो। ती सदस्यले थापाले अझै युलेन्स स्कुल नछाडेको पुष्टि गरे।
‘आजका मितिसम्म भोला थापा सर युलेन्स स्कुलको व्यवस्थापन समितिको अध्यक्ष हुनुहुन्छ नै। उहाँ बोर्ड अफ ट्रस्टीसमेत हुनुहुन्छ,’ उनले भने, ‘उहाँले राजीनामा दिनुभएको मलाई जानकारी छैन।’
त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ (संशोधित २०८२) को दफा १८ (१) अनुसार उपकुलपति विश्वविद्यालयमा पूरा समय काम गर्ने प्रमुख पदाधिकारी हो। कानुनतः अर्को संस्थाको व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गर्नु भनेको त्रिविको पूर्णकालीन जिम्मेवारीसँग बाझिनु हो।
उकेराले शिक्षा सचिव चूडामणि पौडेलसँग ‘अर्को विद्यालय वा कलेजको अध्यक्ष अथवा ट्रस्टीमा बसेर त्रिविको उपकुलपति हुन पाइन्छ?’ भनी सोधेको प्रश्नमा उनले त्यसो गर्न नपाइने बताए।
‘उहाँ कस्तो प्रकारको स्कुलको समितिमा बस्नुभएको हो मलाई थाहा भएन, तर उपकुलपति भनेको पूरा समय काम गर्ने पद हो,’ सचिव पौडेलले भने, ‘अन्यत्र जोडिनु उपयुक्त हुँदैन।’
शिक्षाविद् प्रा. डा. विद्यानाथ कोइराला पनि एकातिर सार्वजनिक विश्वविद्यालयको उपकुलपति बस्ने र अर्कातिर गुठीबाट सञ्चालित स्कुलको समितिमा बस्नु उपयुक्त नहुने बताउँछन्।
‘यति ठूलो सार्वजनिक लगानी भएको र नेपाल सरकारले नियुक्ति गरेको व्यक्ति कुनै स्कुलको समितिमा बस्नु उपयुक्त हुँदैन,’ कोइरालाले भने, ‘स्कुल नै भए पनि यसमा स्वार्थको द्वन्द्व हुनसक्छ।’
त्रिभुवन विश्वविद्यालय ऐनअनुसार उपकुलपति विश्वविद्यालयको पूर्णकालीन पदाधिकारी हुने भएकाले निजी शैक्षिक संस्थाको व्यवस्थापनमा समानान्तर नेतृत्व गर्दा पूर्णकालीन दायित्व प्रभावित हुन्छ कि हुँदैन भन्ने प्रश्न उठ्ने कोइरालाको भनाइ छ।
यसबारे थापासँग दुई दिनदेखि कुरा गर्न खोज्दा उनले फोन उठाएनन्। सम्पर्क गर्न खोज्नुको कारण खुलाएर मेसेज गर्दा समेत कुनै प्रतिक्रिया दिएनन्।
को हुन् भोला थापा ?
युलेन्स स्कुलको वेबसाइटमा उल्लेख भएअनुसार प्रा. डा. भोला थापा उच्च शिक्षा र अनुसन्धानको विकासमा उल्लेखनीय योगदान पुर्याएका शिक्षाविद् हुन्।
सन् २०२१ जनवरीदेखि २०२५ जनवरीसम्म काठमाडौं विश्वविद्यालयको उपकुलपतिका रूपमा काम गरेका उनलाई तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा छनोट गरेको थियो।
थापाले काठमाडौं विश्वविद्यालयमा रहँदा विश्वविद्यालयको शैक्षिक गुणस्तर सुदृढ बनाउन, अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्न तथा गुणस्तर सुनिश्चिततासम्बन्धी पहललाई अगाडि बढाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
यसअघि उनले काठमाडौं विश्वविद्यालयको रजिस्ट्रार तथा इन्जिनियरिङ संकायको डिनका रूपमा समेत काम गरिसकेका छन्। उनी हाइड्रोलिक मेशिनरी तथा ऊर्जा प्रणालीका क्षेत्रका विशेषज्ञ हुन्।
साउन १५, २०८३ शुक्रबार १२:१३:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।