‘ब्रोड पिक’ हिमपहिरोमा दुई जनाको शव भेटियो, पुर्जाको ट्र्याकिङ डिभाइसमा ‘मुभमेन्ट’

‘ब्रोड पिक’ हिमपहिरोमा दुई जनाको शव भेटियो, पुर्जाको ट्र्याकिङ डिभाइसमा ‘मुभमेन्ट’

एजेन्सी : पाकिस्तानको ‘ब्रोड पिक’ (८ हजार ४७ मिटर) हिमालमा हिमपहिरोमा परी बेपत्ता भएका विश्वकीर्तिमानी आरोही निर्मल पुर्जा (निम्सदाइ) नेतृत्वको १० सदस्यीय टोलीमध्ये दुई जनाको शव फेला परेको छ।

बिहीबार दिउँसो काराकोरम हिमशृङ्खलामा पर्ने विश्वको १२औं अग्लो उक्त हिमालमा हिमपहिरो गएपछि टोलीसँगको सम्पर्क विच्छेद भएको थियो। पछिल्लो प्राप्त जानकारीअनुसार दुर्घटनास्थलमा दुई जना आरोहीको शव भेटिएको छ।

सेभेन समिट ट्रेक्सका महाप्रबन्धक थानेश्वर गुरागाईंलाई उद्धृत गर्दै कान्तिपुरले जनाएअनुसार, फेला परेका दुई शवको पहिचान गर्ने कार्य भइरहेको छ।

उद्धारका लागि सेनाको हेलिकप्टर र अन्य आरोही परिचालन
अल्पाइन क्लब अफ पाकिस्तानका अनुसार खोजी तथा उद्धार कार्यलाई तीव्रता दिन पाकिस्तान आर्मीको एभिएसन विभागका दुईवटा हेलिकप्टर आवश्यक जनशक्ति र विशेष उपकरणसहित त्यसतर्फ प्रस्थान गरिसकेका छन्।

यसैगरी, सोही क्षेत्रका अन्य हिमालमा रहेका आरोहीहरू पनि उद्धारमा खटिएका छन्।

सांसद तथा निर्मल पुर्जाका व्यावसायिक साझेदार मिङ्मा ग्याबु शेर्पाले बीबीसीलाई बताएअनुसार, नजिकै रहेका माउन्ट केटु र केथ्री हिमालमा रहेका आरोहीहरू आफ्नो क्याम्पबाट तल झरेर ब्रोड पिकको खोजी अभियानमा सघाइरहेका छन्।

यसका साथै ‘इम्याजिन नेपाल’ नामक पर्वतारोहण कम्पनीका सदस्यहरूले पनि उद्धारमा सहयोग गरिरहेका छन्।

शेर्पाका अनुसार बिहीबार पुर्जाको ट्र्याकिङ डिभाइसमा केही हलचल रेकर्ड भएको थियो। बिहीबार दिउँसो नै हिमपहिरो गए पनि उनीहरूले साँझ मात्रै यसको विस्तृत जानकारी पाएका थिए।

को-को थिए आरोहण टोलीमा ?
अल्पाइन क्लब अफ पाकिस्तानले हिमपहिरोमा परी बेपत्ता भएका १० जनाकै नाम सार्वजनिक गरेको छ। जसमा निर्मल पुर्जासहित ६ जना नेपाली र ४ जना विदेशी नागरिक रहेका छन्:
१. निर्मल पुर्जा ‘निम्सदाइ’ (नेपाल- टोली नेता)
२. पुरबहादुर गुरुङ ‘युक्त’ (नेपाल)
३. किली पेम्बा शेर्पा ‘किलु’ (नेपाल)
४. निमा शेर्पा (नेपाल)
५. नवाङ थिन्दु शेर्पा (नेपाल)
६. ग्यालु शेर्पा (नेपाल)
७. म्यालोरी गिस (अमेरिका)
८. वाङ झोङ (चीन)
९. नधिरा अहमद अब्दुल्लाह अल हार्थी (ओमान)
१०. सोहेल साखी (पाकिस्तान)

सुरुमा ब्रोड पिक चढ्ने योजना थिएन
निर्मल पुर्जाले पाकिस्तान जानुअघि सामाजिक सञ्जाल ‘एक्स’मा राखेको पोस्टअनुसार, उनको सुरुवाती योजना ब्रोड पिक चढ्ने थिएन। उनले ग्यासरब्रम-२ मात्र चढ्ने योजना बनाएका थिए।

तर, विनाअक्सिजन विश्वका ८,००० मिटरभन्दा अग्ला सबै १४ वटा हिमाल दुई पटक आरोहण गर्ने इतिहासकै पहिलो व्यक्ति बन्ने कीर्तिमानबाट उनी मात्र एक हिमाल टाढा थिए। त्यसैले उनले अन्तिम समयमा ब्रोड पिक पनि आरोहण गर्ने निर्णय गरेका थिए।

उनले लेखेका थिए, ‘ब्रोड पिक, म तिमीसँग सुरक्षित रूपमा माथि पुगेर तल फर्किने बाटोबाहेक अरू केही माग्दिनँ। म कुनै पनि हिमाललाई सामान्य रूपमा लिन्नँ।’

पूर्व ब्रिटिस गोर्खा सैनिक तथा रोयल मरिनसमेत रहेका पुर्जाले सन् २०१९ मा ६ महिनाको छोटो अवधिमै विश्वका ८,००० मिटरभन्दा अग्ला सबै १४ वटै हिमाल चढेर विश्वभर तहल्का मच्चाएका थिए। उनको नाममा पर्वतारोहणका आधा दर्जनभन्दा बढी गिनिज वर्ल्ड रेकर्डहरू रहेका छन्।

साउन १५, २०८३ शुक्रबार १०:३९:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।