धर्म र संस्कृति फरक भए पनि मुलुक र भावना एउटै हो : आईजीपी कार्की

धर्म र संस्कृति फरक भए पनि मुलुक र भावना एउटै हो : आईजीपी कार्की

काठमाडौं : नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले नेपाल विविधतामा एकता भएको देश रहेको भन्दै धर्म र संस्कृति फरक भए पनि मुलुक र भावना एउटै भएको बताएका छन्।

पूर्वी तराईका केही ठाउँमा धार्मिक सद्भावमा खलल पुग्ने र त्रास फैलाउने काम दुःखद् भएको भन्दै उनले सामाजिक सञ्जालको दुरुपयोग गरी अफवाह फैलाउने, उत्तेजक अभिव्यक्ति दिने र कानुनको उल्लङ्घन गर्ने कार्य कसैको पनि हितमा नहुने स्पष्ट पारेका छन्।

यस्ता अवाञ्छित गतिविधिले समाजमा तनाव, अविश्वास र विभाजन मात्र बढाउने उनको भनाइ छ। ‘हाम्रो धर्म, संस्कार र संस्कृति फरक हुन सक्छन्, तर मुलुक एउटै हो र हाम्रो भावना पनि एउटै छ’, उनले भनेका छन्।

यस संवेदनशील घडीमा अफवाह, उत्तेजना र घृणाको साटो विवेक, संयम र सद्भावको बाटो अपनाउन उनले सम्पूर्ण नागरिकलाई आग्रह गरेका छन्। अर्काको अधिकार, आस्था र मर्यादाको सम्मान गर्नु सबैको साझा दायित्व भएको कुरामा उनले जोड दिएका छन्।

महानिरीक्षक कार्कीले संयमता, सहिष्णुता र आपसी सम्मानका साथ एकअर्काको संस्कृति र आस्थाको कदर गर्दै सामाजिक सद्भाव, राष्ट्रिय एकता र भाइचारा कायम राख्न अनुरोध गरेका छन्।

पछिल्लो समय केही स्थानमा देखिएका धार्मिक तथा साम्प्रदायिक तनावलाई मध्यनजर गर्दै नेपाल प्रहरीले शान्ति सुरक्षा कायम राख्न यो सन्देश जारी गरेको हो।

साउन १५, २०८३ शुक्रबार ०९:०८:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।