‘ब्रोड पिक’मा हिमालमा हिमपहिरो, निर्मल पुर्जासहित १० जनाको टोली बेपत्ता भएको आशङ्का
एजेन्सी : विश्वकीर्तिमानी आरोही तथा गैरआवासीय नेपाली निर्मल पुर्जाको नेतृत्वमा रहेको १० सदस्यीय अन्तर्राष्ट्रिय पर्वतारोही टोली पाकिस्तानको ‘ब्रोड पिक’ हिमालमा हिमपहिरोमा परी बेपत्ता भएको आशङ्का गरिएको छ।
पाकिस्तानी पर्वतारोहण अधिकारीहरूका अनुसार, काराकोरम हिमशृङ्खलामा पर्ने ८ हजार ४७ मिटर अग्लो उक्त हिमालमा बिहीबार दिउँसोतिर हिमपहिरो खसेको थियो। हिमपहिरो गएयता उक्त टोलीसँग कुनै पनि सम्पर्क हुन सकेको छैन।
यस आरोहण टोलीमा ५ जना नेपाली, एक अमेरिकी, एक चिनियाँ र एक ओमानी नागरिक सहभागी रहेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।
अल्पाइन क्लब अफ पाकिस्तानका उपाध्यक्ष करार हैदरीले बीबीसीसँग कुरा गर्दै भनेका छन्, ‘हामीले सम्बन्धित निकायहरूसँग समन्वय गरिरहेका छौँ। मौसमले साथ दिएमा शुक्रबार बिहानै हेलिकप्टरमार्फत उद्धारको प्रयास गरिनेछ।’
क्लबले छुट्टै विज्ञप्ति जारी गर्दै सम्भावित सबै स्रोतसाधन परिचालन गर्न अधिकारीहरूसँग निरन्तर सम्पर्कमा रहेको जनाएको छ।
साथै, बेपत्ता आरोहीहरूको सकुशल उद्धारको कामना गर्दै यस कठिन घडीमा उनीहरूका परिवार र अन्तर्राष्ट्रिय पर्वतारोहण समुदायप्रति ऐक्यबद्धतासमेत प्रकट गरेको छ।
विश्वको १२औं अग्लो हिमालका रूपमा चिनिने 'ब्रोड पिक'लाई पर्वतारोहणका लागि निकै कठिन र चुनौतीपूर्ण हिमाल मानिन्छ।
निर्मल पुर्जा सन् २०१९ मा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ वटा हिमालहरू ६ महिनाभन्दा केही बढी समयमै आरोहण गरेर विश्वभर चर्चित भएका हुन्।
सन् २००३ मा ब्रिटिस सेनामा भर्ती भएका उनी सन् २००९ मा ‘रोयल मरिन’ बनेका थिए। उनको पर्वतारोहण यात्रा रोचक तरिकाले सुरु भएको थियो।
सन् २०१२ मा सगरमाथा आधार शिविरसम्मको पदयात्रामा निस्किएका उनी योजनाअनुरूप त्यहाँबाट नफर्की पूरै सगरमाथाको सफल आरोहण गरेपछि यसै क्षेत्रमा होमिएका थिए।
साउन १५, २०८३ शुक्रबार ०७:१६:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।