प्रधानमन्त्रीको सम्बोधनमा पोखरेलको टिप्पणी : ‘दलसँग सहकार्यको अपिल गर्न सकेनन्’
काठमाडौं : एमाले महासचिव शंकर पोखरेलले प्रधानमन्त्री वालेन्द्र शाहको देशवासीको नाममा सम्बोधन गर्दा मुलुकका राजनीतिक दल, प्रदेश र स्थानीय सरकारसँग सार्थक सहकार्य र संवादको भावसहित अपिल गर्न नसकेको टिप्पणी गरेका छन्।
प्रधानमन्त्री शाहको सम्बोधन लगत्तै सामाजिक सञ्जालमार्फत उनले परिस्थितिले ढिलै भए पनि प्रधानमन्त्रीलाई बोल्न बाध्य बनाएको उल्लेख गरेका छन्। उनले देशको अभिभावकीय भूमिकामा रहेका प्रधानमन्त्री शाहले सङ्कटका बेला सबैको साथ र सहयोग लिनुपर्नेमा त्यसो गर्न नसकेको टिप्पणी गरे।
"परिस्थितिले ढिलै भए पनि प्रधानमन्त्रीज्यूलाई बोल्न बाध्य बनायो! तर दुःखद कुरा, देशको अभिभावक मानिने प्रधानमन्त्रीज्यूले अझै पनि राजनीतिक दल तथा प्रदेश र स्थानीय सरकारसँग सार्थक सहकार्य र संवादको भावसहित अपिल भने गर्न सक्नुभएन," पोखरेलले लेखेका छन्।
सुनसरीको स्थानीय विवादबाट उत्पन्न हिंसात्मक घटना मधेसका जिल्लासम्म पुगेपछि प्रधानमन्त्री शाहले बिहीबार साँझ देशवासीको नाममा सम्बोधन गरेका थिए। उनले अहिलेको अवस्था संवेदनशील रहेकोले जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्न आग्रह गरेका थिए।
उनले घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको र छानबिन निष्पक्ष र पारदर्शी हुने बताए। प्रधानमन्त्री शाहले सामाजिक सद्भाव बिथोल्ने गतिविधि रोक्न सरकारले कडा कदम चाल्ने चेतावनी दिएका थिए। उनले सामाजिक सञ्जालमा अपुष्ट र घृणा फैलाउने सामग्री नफैलाउन समेत आग्रह गरे।
साउन १४, २०८३ बिहीबार २२:००:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।