१७ वर्षको किशोरीमाथि भएको यौन दुर्व्यवहारको घटनामा मिलापत्र, हिरासतमा राखेको पीडकलाई छाड्यो कालिमाटी प्रहरीले

१७ वर्षको किशोरीमाथि भएको यौन दुर्व्यवहारको घटनामा मिलापत्र, हिरासतमा राखेको पीडकलाई  छाड्यो कालिमाटी प्रहरीले

काठमाडौं : १७ वर्षकी एक किशोरीमाथि भएको यौन दुर्व्यवहारको घटना छानबिन नगरी प्रहरीले मिलापत्रका आधारमा घटना गुपचुप बनाएको खुलेको छ। महानगरीय प्रहरी वृत्त कालीमाटीले किशोरीमाथि भएको यौन दुर्व्यवहारको घटनामा संलग्नलाई नियन्त्रणमा लिएर हिरासतमा राखे पनि अनुसन्धान प्रक्रिया अगाडि नबढाइ घटना मिलापत्रमा लगेर टुङ्ग्याएको खुलेको हो।

उकेराले प्राप्त गरेको विवरण अनुसार असोज ९ गते ४० वर्षका भारतीय नागरिकले एक किशोरीमाथि यौन दुर्व्यवहार गरेका थिए। घटनाबारे जानकारी पाएपछि प्रहरीले भारतीय नागरिकलाई नियन्त्रणमा लिएर प्रहरी कार्यालयमा पनि ल्यायो। ती थिए गार्मेन्ट चलाएर बसेका मिस्टर जिना नाम गरेका भारतीय नागरिक।

प्रहरीले उनलाई हिरासतमा राख्यो। प्रहरीले हिरासतमा राख्दा भने महिलालाई दुर्व्यवहार भनेर किशोरीमाथि भएको यौन दुर्व्यवहारको घटना नै लुकायो। त्यसपछि अनुसन्धान गर्नु पर्ने गम्भीर घटनामा अनुसन्धानको साटो मिलापत्र गराएर भारतीय नागरिकलाई हिरासत मुक्त गर्यो।

पीडितको उमेर नाबालिग भएकोबारे प्रहरी जानकार देखिन्छ। पीडितले प्रहरीलाई दिएको विवरणमा उनीमाथि भारतीय नागरिक जिनाले संवेदनशील अंग समातेर यौन दुर्व्यवहार गरेको प्रस्ट उल्लेख छ। यस्तो गम्भीर अपराधमा प्रहरी आफैँ सक्रिय भएर घटनाको अनुसन्धान अगाडि बढाउने र आरोपीलाई अनुसन्धानको दायरामा ल्याउनु पर्नेमा उल्टो पीडितलाई ‘कहिँकतै उजुरबाजुर नगर्ने’ सहमति गराएर हिरासतमा रहेका आरोपीलाई २४ घण्टा नकट्दै हिरासतमुक्त गराइएको खुल्यो।

पीडित किशोरी र भारतीय नागरिकबीच गम्भीर अपराधमा मिलापत्र गराउन प्रहरी वृत्त कालीमाटीको अपराध अनुसन्धान तथा महिला बालबालिका सेलका प्रमुख प्रहरी निरीक्षक सोनीकुमार साह प्रत्यक्ष संलग्न देखिए। कालीमाटी वृत्तका प्रमुखमा डिएसपी नरेशकुमार सिंह हुन्।

जानकारस्रोतका अनुसार पीडित किशोरीसँग भएको मिलापत्रमा प्रस्ट यौन दुर्व्यवहार भएको, किशोरीले प्रहरीलाई जानकारी गराएपछि प्रहरीले जिनालाई नियन्त्रणमा लिएको उल्लेख छ। त्यसपछि अनुसन्धान प्रक्रिया अगाडि बढाउनुको साटो प्रहरीले मिलापत्र गराएर सो मिलापत्रको कागज लिएर दुबैलाई पठाएको खुल्यो।

घटनामा पीडित १७ वर्षीय किशोरी देखिन्छ। १८ वर्ष मुनिका बालबालिकाको संवेदनशील अंग जबरजस्ती  समात्नु प्रत्यक्ष यौन दुर्व्यवहारको गम्भीर घटना हो। यसमा पद वा प्रलोभन दिएको खुलेमा यौन शोषणको श्रेणीमा पर्छ। यस्तो गम्भीर अपराधमा पनि प्रहरीले मिलापत्र गराएको हो।

यो प्रकरणमा प्रत्यक्ष जोडिएका प्रहरी निरीक्षक सोनीकुमार साहसँग यसबारे बुझ्दा उनले अस्विकार गरे। उनलाई प्रहरीको सम्पर्कमा आएको पीडितको जानकारीका आधारमा पीडक पक्राउ गरेर, हिरासतमा राखेर पछि मिलापत्रको आधारमा छाडेकोबारे सोध्यौँ।

उनले यस्तो घटनामा मिलापत्र हुन नसक्ने दाबी गरे। तर उकेराले प्राप्त गरेको प्रमाणमा भने प्रस्ट मिलापत्र गरेर छाडेको देखिन्छ। प्रहरी वृत्त कालिमाटीका प्रमुख नरेशकुमार सिंहसँग यसबारे बुझ्न सम्पर्क गर्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन।

त्यसपछि उकेराले जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दानबहादुर थापासँग सम्पर्क गर्यौ। उनलाई कुनै बालबालिका वा किशोर किशोरीमाथि यौन दुर्व्यवहार भएको घटनामा प्रहरीले मिलापत्र गर्न मिल्छ भनेर सोधेका थियौँ। उनले भने “मिल्दैन।”

अनि उनलाई प्रहरी वृत्त कालीमाटीमा भएको घटनाबारे जानकारी गराउँदा यसबारे बुझ्ने र यस्तो भएको देखिए छानबिन गरेर दोषी देखिए कार्वाही हुने जवाफ दिए। उकेराले पीडित किशोरीसँग पनि यस घटनाबारे कुरा गर्ने प्रयास गरेका थियौँ। तर उनले यसबारे कुरा गर्न अस्वीकार गरिन्।

असोज २३, २०८३ शुक्रबार १६:२३:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।