कांग्रेस महाधिवेशन : विश्वप्रकाशको नाममा ‘अति गोप्य’ सूची सार्वजनिक, छैन प्रदीप र गुरुराजको नाम

कांग्रेस महाधिवेशन : विश्वप्रकाशको नाममा ‘अति गोप्य’ सूची सार्वजनिक, छैन प्रदीप र गुरुराजको नाम

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान सुरु भएकै समयमा ‘अति गोप्य’ भन्दै उम्मेदवारहरूको एक सूची सार्वजनिक भएको छ।

‘विश्वप्रकाश शर्मा नेतृत्वको समूह’ उल्लेख गरिएको सूची बाहिरिएलगत्तै सभापतिका प्रत्यासी गगनकुमार थापाले त्यसको खण्डन गर्दै आफ्नो कुनै प्यानल नरहेको स्पष्ट पारेका छन्।

बिहीबार तयारी नपुगेपछि रोकिएको मतदान शुक्रबार बिहान ७ बजेदेखि राष्ट्रिय सभा गृह र खुलामञ्चमा सुरु भएको छ।

मतदान सुरु हुनुअघि नै प्रतिनिधिहरूमाझ विश्वप्रकाश शर्माको नाम र फोटोसहितको ‘आन्तरिक प्रयोजनका लागि मात्र (अति गोप्य)’ लेखिएको सूची वितरण गरिएको थियो।

प्रदीप पौडेल र गुरुराज घिमिरे सूचीबाट बाहिर
वितरण गरिएको उक्त सूचीमा गगनकुमार थापालाई सभापति र विश्वप्रकाश शर्मालाई वरिष्ठ उपसभापतिमा राखिएको छ।

यस्तै उपसभापतिमा गोविन्द भट्टराई, मधु आचार्य र विनोद चौधरी तथा महामन्त्रीमा उदयशमशेर राणा, अमरसिंह पुन र महालक्ष्मी उपाध्याय ‘डिना’लाई समेटिएको छ।

तर, यसअघि विशेष महाधिवेशनदेखि नै गगन र विश्वप्रकाशको समूहबाट चर्चामा रहेका महामन्त्रीका उम्मेदवारद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेको नाम भने उक्त सूचीबाट हटाइएको छ।

सूचीमा सहमहामन्त्री र केन्द्रीय सदस्यहरूसहित ७५ जनाको नाम समावेश गरिएको छ।

गगन थापाको प्रष्टीकरण : मेरो नाम जोडेर आएको सूची आधिकारिक होइन
आफ्नो नामसमेत जोडेर ‘अति गोप्य’ सूची प्रचारप्रसार गरिएपछि सभापतिका प्रत्यासी गगनकुमार थापाले सामाजिक सञ्जालमार्फत तत्काल प्रतिक्रिया दिँदै त्यसलाई खारेज गरेका छन्।

मतदान प्रक्रिया सुरु भएको जानकारी दिँदै थापाले यसपटक कुनै प्यानल वा गुट नरहेको स्पष्ट पारेका छन्। थापाले लेखेका छन्, “विभिन्न उम्मेदवारहरूको सूचीलाई मेरो नामसँग जोडेर प्रचारप्रसार भइरहेको कुरा सुन्न र देख्न आएको छ। यस सन्दर्भमा स्पष्ट हुन आग्रह गर्दछु। यो पार्टीभित्रको स्वस्थ आन्तरिक लोकतान्त्रिक प्रक्रिया हो। यसपटक कुनै पनि प्यानल वा गुट छैन। मेरो नाम जोडेर आएको लिस्ट भनी प्रचार गरिएका कुनै पनि उम्मेदवारहरूको सूचीलाई मेरो आधिकारिक समर्थन वा सिफारिसका रूपमा नबुझिदिनुहुन आग्रह गर्दछु।”

उनले कुनै पनि अफवाह वा भ्रममा नपरी पार्टीको सर्वोपरि हितलाई ध्यानमा राखेर आफ्नो स्वतन्त्र विवेक, मूल्याङ्कन र विश्वासका आधारमा मतदान गर्न महाधिवेशन प्रतिनिधिहरूसँग अपिल गरेका छन्। साथै, हिजो प्राविधिक कारणले मतदान हुन नसक्दा प्रतिनिधिहरूमा पर्न गएको असुविधाप्रति पनि उनले क्षमा मागेका छन्।

निर्वाचन समितिका अनुसार बिहान ७ बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म चल्नेछ। प्रतिनिधिहरू बिहान सबेरैदेखि लामबद्ध भएर २९७ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान गरिरहेका छन्।

असोज २३, २०८३ शुक्रबार ०७:३२:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।