कलाकार राजेश हमाल र मिस पविको नाम देखाएर फिल्म अन्धपथ टिमको ठगी, अमेरिका लैजाने प्रलोभन

कलाकार राजेश हमाल र मिस पविको नाम  देखाएर फिल्म अन्धपथ टिमको ठगी, अमेरिका लैजाने प्रलोभन

काठमाडौं : फिल्म “अन्धपथ” को अमेरिकामा सुटिङमा सँगै लैजाने भनेर निर्माण टोलीले नेपालगन्जका कुशलराज न्यौपानेसँग ३० लाख ३५ हजार रुपैयाँ ठगी गरेको खुलेको छ। उकेराको सम्पर्कमा आएका कुशलराजका बुबा खगेन्द्रप्रसादका अनुसार उनका छोरालाई फिल्ममा छोटो भूमिका पनि हुने र सुटिङ अमेरिकामा गर्दा उतै बस्न मिल्ने भन्दै उनको परिवारबाट फिल्मको निर्माण टिमले रकम असुलेको हो।

“आफ्नो घरजग्गा धितो राखी, आफन्तसँग चर्को व्याजमा ऋण काढेर बुझाएको रकम फिर्ता माग्दा पाएनौँ,” न्यौपानेले भने, “उनीहरूले पहुँच माथिसम्मै छ भनेपछि प्रहरीमा उजुरी दियौँ। केही पक्राउ परेका छन्। तर मुख्य मान्छे रामजी लम्साल पक्राउ परेका छैनन्।”

यो प्रकरणमा फिल्मको निर्माण टिमले कलाकार राजेश हमाल नै मुख्य भूमिकामा रहेकाले अमेरिका जान समस्या नहुने भन्दै जो-जो कलाकारका रूपमा अमेरिका जाने हो उनीहरूसँग प्रतिव्यक्ति ३५ लाख रुपैयाँ मागेका थिए। जो जसले बुझाए ती ठगिए। उकेराको सम्पर्कमा एक जना मात्र आएका हुन्।

उनीहरूले ठगीमा फिल्ममा राजेश हमाल र मिस पविको तस्बिर र फिल्म बनाउन चलचित्र विकास बोर्डले दिएको अनुमति पत्र देखाएका थिए। अमेरिका जान चाहेमा फिल्मको लगानीकर्तासँगै कलाकारमा समेत नाम राख्ने र सुटिङका लागि भनेर अमेरिका लगेर उतै सेटल गराउने प्रलोभन दिएको देखियो।

यो घटनाको सुरुवात २०८२ जेठ पहिलो सातादेखि सुरु भएको देखिन्छ। बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ११ दशबिघा नजिकै पिबिआर नामको होटेल सञ्चालन गर्दै आएकी पानसरा कुमारी थापा खगेन्द्रप्रसादको घरमा आउजाउ गर्थिन्।

खगेन्द्रका छोरा कुशलराज माध्यमिक तह उत्तीर्ण गरेर घरमै बसेका थिए। उनी रोजगारको खोजीमा थिए। पानसरालाई खगेन्द्रको परिवारलाई चिन्थ्यो। उनले कुशराजलाई वैदेशिक रोजगारीका लागि अमेरिका पठाउन सकिने भन्दै प्रस्ताव राखेकी थिइन्।

फिल्म अन्धपथको घोषणा कार्यक्रम।उकेरालाई प्राप्त न्यौपानेको जाहेरी अनुसार पानसराले  आफूहरूको ठूलो टिम रहेको, 'अन्धपथ' ठूलो बजेटको नेपाली फिल्म निर्माण हुँदै गरेको र त्यसको सुटिङ अमेरिकाका विभिन्न शहरहरूमा हुने बताइन्। उनले  सो फिल्मको निर्माण टोलीसँग आफ्नो प्रत्यक्ष सम्बन्ध रहेको समेत बताएकी थिइन्।  पानसराले १२ जनाको टोली अमेरिका जाँदै गरेको र  अमेरिकामा आफ्नै वकिल भएका कारण  ३/४ महिनाभित्रै सबै काम कानुनी रूपमै हुने भएकाले पैसा चाहिने बताइन्।

उनले फिल्मका लगानीकर्ता वा कलाकारका रूपमा टोलीमा नाम मिसाएपछि अमेरिकाको भिसा पाउन र प्रवेश गर्न निकै सहज हुने भन्दै प्रतिव्यक्ति ३५ लाख रुपैयाँ लाग्ने सर्त राखेकी थिइन्।  ३५ लाखमा सम्पूर्ण प्रक्रिया मिलाएर अमेरिका सेटल गराइदिने भनेपछि आफूहरू राजी भएको न्यौपानेले बताए।

“३० देखि ३५ लाखमा काम सकिन्छ भनेपछि छोरो अमेरिका जान्छ भनेर म त ढुक्कै थिए,” उनले भने “अहिले  मलाई अलपत्रै पारेर ऋण बोकाइदिए।”

ठगीमा राजेश हमालको फोटो र विकास बोर्डको इजाजत पत्रको प्रयोग 

निर्माण टिमले २०८१ माघ ३० मा फिल्मको घोषणा गरेको थियो। फिल्म घोषणामा पानसरा भने उपस्थित थिइनन्। कार्यक्रममा अभिनेता राजेश हमाल,सुभाष गजुरेल,सन्जीत भण्डारी,उत्तम केसी,कमल मैनाली,कृष्ण ढुङ्गाना लगायतका कलाकारहरू रहने बताइयो। फिल्मको सुटिङ पनि शुरु भएको देखियो।

पछि फिल्ममा पानसरा जोडिएको देखियो। उनले फिल्मको सुटिङ अमेरिकामा हुने र जान पाइने भनेर केही युवाहरुसँग पैसा उठाएको देखियो। पानसराले विश्वास दिलाउन कुशराजलाई काठमाडौँ बोलाइन्। काठमाडौँका विभिन्न फिल्म अफिसहरू घुमाउने क्रममा उनले डिल्लीबजार स्थित ‘अन्धपथ’ फिल्मका कथा रचनाकार तथा निर्माता रामबहादुर “रामजी” लम्सालको कार्यालयमा लगिन्।

त्यहाँ निर्माता रामबहादुरले कुशराजलाई विभिन्न चर्चित कलाकारहरू (राजेश हमाल, मिस पवि लगायत) सँगका तस्बिरहरू देखाउँदै विश्वास दिलाए। सो फिल्ममा राजेश हमाल हिरो रहने, टिकटकर तथा कलाकार मिस पवि हिरोइन रहने र कुशराजलाई पनि एउटा भूमिका दिइने बताइयो । फिल्मका निर्देशन रामकाजी घिमिरेले गर्ने बताइएको थियो। उकेरालाई प्राप्त उक्त पोस्टरमा समेत राजेश हमालको तस्बिर छ । 

न्यौपाने परिवारलाई  विश्वास दिलाउन चलचित्र विकास बोर्ड, काठमाडौँबाट जारी गरिएको 'चलचित्र निर्माण गर्न दिइने इजाजत पत्र' देखाइएको थियो। उकेरालाई प्राप्त  उक्त चलचित्र विकास बोर्डको पत्र अनुसार इजाजत पत्र नम्बर ६१/०८१/०८२ (डिजिटल) रहेको छ। त्यस्तै इजाजत पत्र पाउने संस्था आर. जे. ट्वान्टी फोर मिडिया प्रालि, काठमाडौँ महानगरपालिका २८ उल्लेख छ। 

चलचित्रको नाम 'अन्धपथ' (भाषा नेपाली, प्रविधि डिजिटल, हुने उल्लेख छ। कथा रचना रामबहादुर लम्साल र चलचित्र निर्देशक रामकाजी घिमिरे भन्ने उल्लेख छ। त्यस्तै  छायाङ्कन गर्ने स्थानहरूमा नेपाल, मेक्सिको, अमेरिका, ब्राजिल, पानामा र भारत उल्लेख छ। फिल्म बनाउने  अनुमानित खर्च  २ करोड उल्लेख छ। इजाजत पत्रको अवधि २०८१/०५/०८ देखि २०८४/०५/०७ सम्म दिएको छ। 

न्यौपानेले विकास बोर्डको सरकारी छाप, अधिकृत अप्सरा समालको हस्ताक्षर रहेको सो आधिकारिक प्रमाणपत्र र फिल्म स्टारहरूको फोटो देखेका कुनै शङ्का गर्ने ठाउँ नै नपाएको बताउँछन् । 

किस्ता-किस्तामा ३० लाख ३५ हजार असुली

डिल्लीबजार नै आएर कार्यालय हेरेपछि न्यौपाने परिवार थप आश्वस्त भयो। फिल्मको टिमले भिसाका लागि रकम चाहिने बतायो। न्यौपानेका अनुसार पैसा मागेपछि आफ्नो खेतबारी बैंकमा धितो राखेर पनि नपुगेपछि  आफन्तहरूसँग महँगो व्याजमा ऋण गरेर उनीहरूले पानसराले भनेका विभिन्न बैंक खाताहरूमा रकम राख्न थाले।

पानसराले उनीहरूलाई पैसा राख्न साङ्ग्रिला डेभलपमेन्ट बैंक, नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकका खाता नम्बरहरू उपलब्ध गराएको देखिन्छ। उकेरालाई प्राप्त बैंक स्टेटमेन्ट अनुसार पानसराको खातामा २०८२ जेठ ६ गते नेपाल बैंकको खातामा ३ लाख अन्य बैंकमा १८ पटक गरेर २०८२ पुस १८ गते सम्म ३० लाख ३५ हजार रकम जम्मा  गरेको देखियो।

विभिन्न मितिमा बैंक खातामा १ लाखदेखि २ लाखसम्मका किस्तामा रकम भुक्तानी गरिएको छ। २०८२/०३/३० मा राष्ट्रिय वाणिज्य बैंक/नेपाल बैङ्कमार्फत २ लाख तथा २०८२/०९/१८ मा ४० हजार अन्तिम भुक्तानी गरिएको विवरणमा देखिन्छ। 

पैसा पाएपछि भाका सारेको सार्यै 

न्यौपाने परिवारले रकम बुझाए पनि काम भने सुरु भएन। उनीहरूले न्यौपाने परिवारलाई भने  अनुसार २०८२ को दशैँ अगावै कुशराजलाई अमेरिका उडाइसक्नुपर्ने थियो। तर दशैँ बित्यो, अमेरिका पठाउने कुनै काम भएन।

न्यौपाने परिवारले ताकेता गर्दा तिहार लगत्तै उडाउँछौँ भने। तिहार पनि बित्यो। त्यसपछि अहिले देशमा राजनीतिक आन्दोलन र अन्य कारणले ढिलाइ भयो, पुस महिनाभित्र शतप्रतिशत काम हुन्छ भन्दै भाका सारियो।

बिचमा रकम असुल्न काठमाडौँमा चलचित्रको आधा-अधुरो सुटिङको “नाटक” समेत गरियो। तर पुस महिना बितिसक्दा पनि अमेरिका पठाउने कुनै छाँटकाँट देखिएन। उल्टै पुस महिनामा थप ४ लाख ५० हजार रुपैयाँ माग गरियो।

२०८३ साल साउन १२ गतेसम्म बुझ्दै जाँदा फिल्म सुटिङको बहाना बनाएर अन्य थुप्रै मानिसहरूबाट पनि यसरी नै करोडौँ रकम असुली भइरहेको र कसैलाई पनि अमेरिका नपठाइएको  थाहा पाए। आफू ठगिएको निश्चित भएपछि खगेन्द्रप्रसादले पानसरासँग आफ्नो ३० लाख ३५ हजार रुपैयाँ फिर्ता मागे।

तर, पानसराले रकम फिर्ता दिनुको साटो उल्टै धम्काउन थालिन्। मैले पैसा चलचित्र 'अन्धपथ'का निर्देशक रामकाजी घिमिरे र लेखक/निर्माता रामजी लम्साल लगायतको टिमलाई पठाइसकेकी छु। उनीहरूले रकम चलचित्रमा लगानी गरिसके, अब पैसा फिर्ता पाइँदैन। माथिसम्म हाम्रो पावर छ, जे गर्न सक्छौ गर। धेरै कचकच गरे तिम्रो छोरालाई नै उल्टै फसाइदिन्छौँ भन्दै उनले धम्की दिइन्।

उकेरासँग पानसरासँग भएका फोन संवादका अडियो रेकर्डहरू र भिडियो प्रमाणहरू सुरक्षित छन्। अडियो रेकर्डमा पानसराले न्यौपाने परिवारबाट रकम लिएको र सो रकम चलचित्रको टिम (रामजी लम्साल र रामकाजी घिमिरे) लाई बुझाइसकेको स्वीकार गरेकी छिन्।

प्रहरीमा जाहेरी, पानसरा पक्राउ 

केही सिप नलागेपछि न्यौपाने परिवारले  जिल्ला प्रहरी कार्यालय कोहलपुरमा ठगीमा भदौ १ गते जाहेरी दिए। जाहेरीमा मुख्य अभियुक्त पानसरा कुमारी थापा, 'अन्धपथ' चलचित्रका कथा रचना तथा निर्माता रामबहादुर लम्साल (रामजी लम्साल), निर्देशक रामकाजी घिमिरे र आर.जे. ट्वान्टी फोर मिडिया प्रालिका सम्बन्धित व्यक्तिहरूमाथि मानव बेचबिखन तथा ओसारपसार र सङ्गठित ठगी मुद्दामा कडा कानुनी कारबाहीको माग गरिएको छ। इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेका चक्र डम्बर पालका अनुसार पानसरा थापा पक्राउ परेकी छन्। 

“उनलाई ठगीको आरोपमा पक्राउ गरेका हौँ फिल्म बनाउने अनि उतैबाट अमेरिका पुराउन भन्दै पैसा लिइएको रहेछ,” उनले भने, “विस्तृतमा अनुसन्धान हुँदैछ।”

यता ‘अन्धपथ’ चलचित्रका कथा रचनाकार तथा निर्माता रामबहादुर “रामजी” लम्सालले उकेरासँग कुराकानी गर्दै पानसरा आफैँ सह-निर्माता भएको तर उनले रकम कसरी ल्याएको भन्नेबारे थाहा नभएको दाबी गरे।

फिल्मको छायाँकन शुरु गर्दाको तस्बिर।“पानसराले पैसा ल्याएकी रहेछिन्। उनीहरूबीच के कुरा भयो थाहा भएन,” उनले भने, “हामीले राजेश हमाललाई नै लिएर अछाम र दोलखमा सुटिङ गरिसेका छौँ। ४५ प्रतिशत काम सकिसक्यो। केही कारणवश ढिला भएको छ। हामीले कसैलाई विदेश लगिदिन्छु भनेर ठगेका हैनौँ” उनले भने।

तर उकेराले पाएको भिडियोमा रामजीले पीडितसँग जसरी पनि अमेरिका लैजाने र अमेरिका लैजान नसके पैसा फिर्ता हुने बताइरहेका छन्। उनले फिल्म बनाउन अमेरिका जाने र अमेरिका जानलाई पैसा हालेको र सबै सँगै जाने तर भाग्यले कसलाई बसाल्छ थाहा नभएको बताएका छन्। उनले भिडियोमा फिल्म अमेरिका पुग्छ र सँगै लैजाने र जान नसके ब्याजसहित पैसा फिर्ता हुने बताएका छन्।

चलचित्र निर्देशक रामकाजी घिमिरेले आफ्नो खातामा केही पैसा आएको स्वीकारे तर सो कसरी आएको भन्ने थाहा नभएको दाबी गरे। 

“मेरो खातामा पैसा आएको हो। हामीले निर्माताले के-कसरी पैसा ल्याउनु भयो सोध्ने कुरा भएन,” उनले भने, “मैले नै साढे १० लाख जति विभिन्न क्षेत्रमा बुझाएको छु। मैले पैसा पाएको छैन। उहाँहरूको कुरा मलाई थाहा हुने कुरा भएन” उनले भने।

असोज २२, २०८३ बिहीबार २१:३१:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।