स्थानीय चुनावतर्फ केन्द्रित हुँदै एमाले; मङ्सिरमा वडा, पुसमा पालिका अधिवेशन
काठमाडौं : आउँदो स्थानीय तहको निर्वाचनतर्फ केन्द्रित हुँदै एमालेले वडा र पालिका तहका अधिवेशनको मिति तय गरेको छ। भदौ पहिलो साता सम्पन्न पार्टीको तेस्रो केन्द्रीय कमिटी बैठकले पारित गरेका कार्यभारअन्तर्गत सङ्गठन सुदृढीकरण तथा जनपरिचालनलाई तीव्रता दिन अधिवेशनको मिति तय गरिएको हो।
एमालेले आगामी मङ्सिर २६ गते वडा कमिटी र पुस ४ गते पालिका कमिटीको अधिवेशन गर्ने निर्णय गरेको छ। एमालेका केन्द्रीय प्रचार प्रमुख निरज आचार्यका अनुसार पार्टीले वडा र पालिका तहमा नेतृत्व पुनःगठन गर्ने, प्रदेश तथा जिल्ला तहका नेतृत्व र जनप्रतिनिधिलाई एकीकृत रूपमा परिचालन गर्ने तथा सङ्गठनलाई थप सक्रिय बनाउने लक्ष्य लिएको बताए।
एमालेले आफ्नो राजनीतिक सन्देश जनतासम्म पुर्याउन प्रत्यक्ष संवाद र घरदैलो अभियानलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै २०८२ भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनका घटनाको वास्तविकता, लोकतान्त्रिक प्रक्रियामा परेको असर, निर्वाचनको वातावरण, पार्टीमाथि लगाइएका आरोप तथा आफ्नै कमजोरीको समीक्षा पनि गरिरहेको उनले बताए।
चाडपर्व नजिकिँदै गर्दा महँगी, बेरोजगारी, किसानले पाउने मूल्य, मजदुरको श्रम, साना उद्यमीमाथिको कर, विद्यार्थीको भविष्य, शिक्षकका समस्या, स्वास्थ्योपचार खर्च, महिला सुरक्षा, सुकुमबासीको आवास, सीमावर्ती नागरिकको सम्मान र प्रवासी नेपालीका समस्यालाई पार्टीको दैनिक राजनीतिक कार्यसूचीमा समेट्नुपर्नेमा पनि एमालेले जोड दिइएको छ।
तीन दिन यता जारी एमालेको स्थायी कमिटीको बैठक शनिबार पनि सो पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा बस्ने कार्यक्रम रहेको छ।
असोज २४, २०८३ शनिबार १७:४४:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।