गोलबजार घटनापछि तीन सदस्यीय छानबिन टोली गठन

गोलबजार घटनापछि तीन सदस्यीय छानबिन टोली गठन

काठमाडौं : मधेस प्रदेश प्रहरी कार्यालयले बिहीबार सिरहाको गोलबजारमा भएको घटनाको अनुसन्धानका लागि तीन सदस्यीय छानबिन टोली गठन गरेको छ।

मधेस प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भेषराज रिजालको संयोजकत्वमा गठित टोलीमा प्रहरी निरीक्षक यज्ञराज भट्ट र प्रहरी सहायक निरीक्षक गोविन्द झा सदस्य रहेका छन्। 

बिहीबार सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा गोली लागेर स्थानीय गणेश यादवको मृत्यु भएको थियो। जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार र लहानका विभिन्न क्षेत्रमा कर्फ्यु जारी गरेको छ।

प्रदर्शनका क्रममा निजी घर, स्थानीय सपिङ मल, साइकल ग्यारेज, पार्टी प्यालेस लगायतका निजी सम्पत्तिमा तोडफोड तथा आगजनी गरिएको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो।

यसअघि गत आइतबार राति सुनसरीको देवानगन्ज गाउँपालिका-३ कप्तानगन्जमा भएको झडपमा गोली लागेर ओमप्रकाश मेहताको मृत्यु भएको थियो। उक्त घटनाको विरोधमा अन्य जिल्लाहरूमा समेत प्रदर्शन भइरहेको छ। 

साउन १४, २०८३ बिहीबार २०:१३:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।