राष्ट्रपतिसहित शीर्ष नेताहरूको आह्वान : ‘संयम अपनाऔं, सद्भाव कायम राखौं’

राष्ट्रपतिसहित शीर्ष नेताहरूको आह्वान : ‘संयम अपनाऔं, सद्भाव कायम राखौं’

काठमाडौं : सुनसरीको देवानगञ्जमा सुरु भएको विवाद मधेस प्रदेशका जिल्लासम्म फैलिएपछि राष्ट्रपति रामचन्द्र पौडेलसहित विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले सामाजिक सद्भाव कायम राख्न अपिल गरेका छन्।

फैलिँदै गएको तनावपूर्ण परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै उनीहरूले स्थितिलाई यथाशीघ्र सामान्य बनाउन सरकारको ध्यानाकर्षण गराए। भ्रामक प्रचार, अफवाह वा उक्साहटपूर्ण अभिव्यक्तिबाट टाढा रही शान्ति कायम गर्न आह्वान गरेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले देशको सदियौंदेखिको सामाजिक, धार्मिक र जातीय सद्भाव कायम राख्न अपिल गरे। शान्ति सुव्यवस्था कायम गर्न सरकारले हरसम्भव प्रयास गर्ने विश्वास व्यक्त गर्दै उनले घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न आग्रह गरे।

पौडेलले भनेका छन्, "उत्पन्न विषम परिस्थितिलाई यथाशीघ्र सामान्य बनाउन, शान्ति सुव्यवस्थालाई पूर्ववत् अवस्थामा ल्याई नागरिकको शान्तिपूर्ण जीवनयापन गर्ने वातावरण कायम गर्न हरसम्भव प्रयासमा सरकार लाग्नेछ भन्ने विश्वास लिएको छु।"

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान संवेदनशील परिस्थितिमा उच्च संयमता अपनाउन र अफवाहपूर्ण अभिव्यक्ति नदिन आग्रह गरिन्। कानुनी शासन र आपसी विश्वासबाट मात्र समस्याको समाधान हुने उल्लेख गर्दै उनले घटनाको पारदर्शी छानबिन गरी पीडितलाई न्याय सुनिश्चित गर्न सरकार र सुरक्षा निकायको ध्यानाकर्षण गराइन्।

यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले हिंसात्मक कदम तत्काल रोकी संवादमार्फत समाधान खोज्न सरकारसँग आग्रह गरे। कुनै पनि प्रकारको भ्रामक प्रचारको पछि नलाग्न र सामाजिक सद्भाव कायम राख्न उनले अपिल गरे। ओलीले भनेका छन्, "नागरिकको जीउधनको रक्षा गर्नु र संवादको माध्यमबाट समस्याको समाधान गरी देशलाई शान्तिको बाटोमा लैजानु सरकारको प्राथमिक दायित्व हो।" 

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेपाली जनताको ऐतिहासिक विरासत भनेको सामाजिक सद्भाव कायम राख्नु भएकाले संवाद र सहमतिबाट समस्याको समाधान गरिनुपर्नेमा जोड दिए। प्रतिनिधिसभाको बिहीबारको बैठकमा उनले सुनसरीको परिस्थिति असहज हुन दिन नहुने र त्यसका  लागि सबै पक्षले सामाजिक सद्भावलाई महत्व दिएर अघि बढ्नुपर्ने बताए। सुनसरीको कप्तानगञ्जमा गोली चलाउनु पर्ने अवस्था थियो वा थिएन भन्ने विषय पनि सत्यतथ्य बाहिर आउनुपर्ने उनको धारणा थियो।

त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले समुदायलाई विभाजित हुन नदिन र सामाजिक सद्भाव कायम गर्न सरकारले तत्काल गम्भीर कदम चाल्नुपर्नेमा जोड दिए। उनले भनेका छन्, "घटनाको सत्य तथ्य छानबिन गर्न र सामाजिक सद्भाव कायम गर्ने विषयमा तत्काल गम्भीर कदम चाल्न सरकारको गम्भीर ध्यानाकर्षण गराउँछु।"

साउन १४, २०८३ बिहीबार १९:२४:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।