सुनसरी घटनामा चलेको गोलीको अनुसन्धान गर्न खटिए ब्यालिस्टिक र फरेन्सिक विज्ञ, कसरी पत्ता लाग्छ हतियार!
काठमाडौं : सुनसरी घटनाबारे छानबिन गर्न गठित समितिमा नेपाल प्रहरीकोतर्फबाट ब्यालेस्टिक र फरेन्सिक विज्ञ सदस्यको रूपमा थपिएको छ। गृह मन्त्रालयले बुधवार सचिवस्तरीय निर्णय गर्दै ब्यालिस्टिक र फरेन्सिक हेर्ने गरी प्रहरी निरीक्षक दिपेश अवस्थी र प्रहरी उपरीक्षक मोहनसिंह धामीलाई सदस्यमा नियुक्त गरेको हो।
आइतबार राति सुनसरीको देवानगञ्जमा दुई समूहबीच भएको झडपका सम्बन्धमा छानबिन गर्न गत सोमबार गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन भएको थियो। समितिका पदाधिकारीहरू अहिले घटनास्थलमा पुगेका छन्।
घटनामा गोली चल्दा एक जना स्थानीय युवाको मृत्यु भएको थियो भने नौ जना घाइते भएका थिए। घटनास्थलमा गोली चलेकाले त्यसको सूक्ष्म अनुसन्धानका लागि समितिमा फरेन्सिक र ब्यालेस्टिक विज्ञ नियुक्त गरिएको हो। प्रहरीले हवाई फायर मात्र गरेको दाबी गरिरहेको अवस्थामा व्यक्तिको मृत्यु नै हुनेगरि कुन पक्षबाट गोली चल्यो भन्ने विषयमा विवाद हुँदै आएको छ।
कसरी थाहा पाउन सकिन्छ गोली चलेको हतियार !
जानकारका अनुसार गोली सुरक्षाकर्मीको तर्फबाट चलेको हो या हैन भन्ने ब्यालिस्टिक र फरेन्सिक विज्ञले निर्क्योल गर्न सक्छन्। घटनास्थलमा बरामद खोका वा मृतक वा घाइतेको शरीरमा फेला पर्ने बुलेटको आधारमा गोली कुन हतियारको हो भन्ने जानकारी हुन्छ। हरेक हतियारमा गोलीलाई ठक्कर दिने भागको चिन्न अलग अलग हुने भएकाले गोलीको पछाडि लाग्ने डामको आधारमा हतियारको पहिचान हुनसक्छ।
"हरेक सुरक्षाकर्मीलाई हतियार र गोलिदिँदा त्यसको अलग्गै रेकर्ड राखिएको हुन्छ," ती विज्ञले भने "यदि घटनास्थलका गोलीका खोका सुरक्षित छन् वा मृतक र घाइतेको शरीरबाट निकालिएका गोलीको भाग सुरक्षित छ भने सुरक्षाकर्मीको हतियारबाट गोली चलेको हो या हैन सहजै थाहा पाउन सकिन्छ।"
कसरी ? ती विज्ञले उकेरालाई बताउँदै गए। ती विज्ञका अनुसार प्रत्येक हतियारको आन्तरिक बनावट मानिसको औँठाछाप जस्तै युनिक हुन्छ। यही विधिले नै गोलीको आधारमा हतियार पहिचान गर्न सकिन्छ। आइतबार घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका थिए। उनीहरूले प्राय पेस्तोलसहित एसएलआर, इन्सास, एसएमजी जस्ता राइफल बोक्छन्।
जानकारका अनुसार इन्सास, एसएलआर, वा पिस्तोलको ब्यारेल (नाली) को भित्री भागमा घुमाउरो रेखा वा धर्सोहरू कोरिएका हुन्छन्। यसले गोलीलाई तीव्र गतिमा घुमाउँदै सीधा बाटोमा जान मद्दत गर्छ। ब्यारेल बनाउँदा वा धातु काट्दा त्यसको भित्री सतहमा साना-साना सूक्ष्म कोराहरू रहेका हुन्छन्। जब गोली ब्यारेलबाट तीव्र घर्षणका साथ बाहिर निस्कन्छ, ब्यारेलका ती युनिक धर्सा र कोराहरू गोलीको बाहिरी धातुमा औँठाछाप झैँ छापका रूपमा रहन्छ।
दोस्रो विधि भनेको खोकामा लाग्ने फायरिङ पिन' र ब्रीचफेस' को डामको आधारमा समेत अनुसन्धान गर्न सकिन्छ। गोली चलेपछि घटनास्थलमा भेटिने खोकाबाट पनि हतियार पहिचान हुन्छ
बन्दुकको ट्रिगर खिच्दा फायरिङ पिनले गोलीको पछाडिको भागमा धक्का दिन्छ। हरेक हतियारको फायरिङ पिनको टुप्पोमा हुने सूक्ष्म भिन्नताले खोकामा बेग्लै डाम वा खाल्डो बनाउँछ। जानकारका अनुसार गोली पड्किँदा उत्पन्न हुने अत्यधिक चापले गर्दा खोका पछाडि सरेर हतियारको 'ब्रीचफेस' मा ठोक्किन्छ। त्यस बेला ब्रीचफेसमा भएका सूक्ष्म धर्साहरू खोकाको पछाडि प्रस्टै बस्छ।
खोका बन्दुकबाट बाहिर फ्याँकिँदा हतियारको मेकानिजमले छाड्ने डामहरू पनि अनुसन्धानका लागि महत्त्वपूर्ण मानिने एक जानकारले बताए।
घटनास्थलबाट फेला परेका खोका, मृतक वा घाइतेको शरीरबाट निकालिएका बुलेट र शंकास्पद हतियारहरूलाई फरेन्सिक ल्याबमा लगेर परीक्षण गरेर समेत गोलीको आधारमा हतियार पहिचान गर्न सकिने जानकारले बताए। यसका लागि प्रयोगशालामा विज्ञहरूले शंका गरेको हतियारबाट ब्यालेस्टिक ट्यांकमा नयाँ गोली हानेर सुरक्षित रहने गोलीको खोकालाई घटनास्थलमा भेटिएको खोका/गोलीको नमूना मिलाउन सकिन्छ।
कम्पेरिजन माइक्रोस्कोप मार्फत दुवैका सूक्ष्म धर्साहरू र फायरिङ पिनको डामलाई एकै ठाउँमा जोडेर हेर्दा एकै हतियार वा फरक फरक हतियार प्रयोग भएको हो सहजै जानकारी हुने जानकारले बताए।
पछिल्लो समय आधुनिक फरेन्सिक अनुसन्धानमा डिजिटल सफ्टवेयरको समेत प्रयोग हुने गरेको छ। यसले गोली र खोकामा रहेका सूक्ष्म डामहरूको थ्रिडीमा स्क्यान गरी डेटाबेसमा भएका हजारौँ हतियार र पुराना केसहरूसँग सेकेन्डभरमा तुलना गरेर सम्भावित हतियार पहिचान गरिदिन्छ। यो प्रविधि भने नेपाल प्रहरीसँग नभएको एक अधिकारीले बताए।
साउन १३, २०८३ बुधबार १९:४७:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।