बालेन सरकारको ‘मेरिट’ भित्रको अङ्कुश : सुरुमै राजीनामा पत्रमा सहि, अनि मात्र भीसीको कुर्सी

बालेन सरकारको ‘मेरिट’ भित्रको अङ्कुश : सुरुमै राजीनामा पत्रमा सहि, अनि मात्र भीसीको कुर्सी
कभर तस्बिर : एआइको सहयोगमा।

काठमाडौं : सरकारले पहिला राजीनामा पत्र लिएर मात्र शिक्षा तथा स्वास्थ्य क्षेत्रका उपकुलपति (भीसी)हरूलाई नियुक्ति पत्र दिएको खुलासा भएको छ।  खुला प्रतिस्पर्धाबाट मेरिट(क्षमता) को आधारमा नियुक्त गर्ने भन्दै छानिएकाहरुलाई पहिला मिति नराखेको राजीनामा पत्र बुझाउन लगाएर मात्र नियुक्ति पत्र दिएको खुलेको हो।

उकेराले स्वास्थ्य र शिक्षा गरी दुवैतर्फ मन्त्रालय अन्तर्गतका प्रतिष्ठान र विश्वविद्यालयमा सरकारले नियुक्त गरेका मध्ये ११ जना उपकुलपति र एक रजिष्ट्रारसँग सम्पर्क गरेर नियुक्ति पूर्व नै राजीनामा पत्रमा हस्ताक्षर गराएको हो भनेर सोधेको थियो। जसमध्ये एक जनाले मात्र मिति नभएको राजीनामा पत्र दिएर मात्र नियुक्ति पत्र लिएको अस्विकार गरे।

यसले सरकारले भिसीहरुलाई दबाबमा राख्न जुनसुकै समयमा पदबाट हटाउन सक्नेगरी पहिला राजीनामा लिएर मात्र नियुक्ति दिएको देखियो। जानकार स्रोतका अनुसार हस्ताक्षर गराइएको तर मिति नराखिएको राजीनामा पत्रमा राजीनामाका सबै बेहोरा लेखिएको छ। 

प्रधानमन्त्रीमा वालेन्द्र शाह नियुक्त भएपछि सरकारले अध्यादेश ल्याएर यस अगाडिका सरकारले नियुक्त गरेकाहरुलाई एकमुस्ट रुपमा पदमुक्त गरेको थियो। त्यसपछि योग्यलाई नियुक्त गर्न आवेदनको सूचना निकालियो। पहिला आवेदकको नाम सार्वजनिक गरियो। त्यसपछि तीन जनाको सर्ट लिस्ट बनाएर तीमध्ये एक जनालाई नियुक्त गरियो।

यस अनुसार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा डा. विवेक आचार्य, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. नवीसमानसिंह प्रधान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. स्मृति कार्की, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. नारायणसिंह गुरुङ, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. सूर्यमान म्याहाङम्बो र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. अजयकुमार मिश्र नियुक्त भए।

यसैगरि शिक्षातर्फ त्रिभुवन विश्वविद्यालयमा डा. भोला थापा, सुदूरपश्चिम विश्वविद्यालयमा किसन दत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयमा राजन सुवाल, कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कट्टेल, राजर्षी जनक विश्वविद्यालयमा श्यामनारायण लाभ, पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकारी,नेपाल संस्कृत विश्वविद्यालय, डा. भिम प्रसाद खतिवडा र पूर्वाञ्चल विश्वविद्यालयमा सुजन बाबु मरहट्टा नियुक्त भएका हुन्।

उकेराले शिक्षातर्फको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र स्वास्थ्यतर्फका छ वटै स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति लगायतका पदाधिकारीसँग कुराकानी गर्दा कसैले पनि पूर्व हस्ताक्षरको विषयलाई अस्वीकार गरेनन्। उनीहरू सबैको एउटै जवाफ थियो- ‘तपाईंले बुझ्नुभएकै छ, मिलाएर लेख्नुहोस् न।’

शिक्षा मन्त्रालयअन्तर्गतका अन्य चारवटा विश्वविद्यालयका उपकुलपतिहरूसँग कुराकानी गर्दा एक जनाबाहेक कसैले पनि नियुक्तिपूर्व नै राजीनामा पत्रमा हस्ताक्षर गरेको विषय अस्वीकार गरेनन्।

मिडियामै बोले दशरथ चन्दका उपकुलपति
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुनील कुमार जोशीले एक मिडियासँगको भिडियो कुराकानीमा सार्वजनिक रूपमै राजीनामा पत्रमा हस्ताक्षर गरेको स्वीकारे।

‘भीसी र रजिस्ट्रारजस्तो पदमा गएपछि जिम्मेवारीपूर्ण कार्य गर्नुपर्यो,’ उपकुलपति डा. जोशीले इ-भण्डाफोरडटकमको भिडियो अन्तर्वार्तामा भनेका छन्, ‘जिम्मेवारीपूर्ण कार्य नगरेको अवस्थामा मात्रै कारबाही गर्न सजिलो होला भनेर नै सायद यो प्रक्रियागत रूपमा कुरा होला।’

उकेराले यसबारे जोशीसँग कुरा गरेको थियो। उकेरासँग पनि उनले राजीनामा पत्रमा हस्ताक्षर गरेर नियुक्ती पत्र लिएको पुष्टि गरे। "भिडियोमा मैले बोलेको कुरा सत्य हो" उनले उकेरासँग भने।

सोही प्रश्न अर्का एक स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई सोध्दा लामो हाँसो हाँस्दै उनले ‘यो विषयमा मैले बोलिन, तपाईं बुझ्नु न! हुन्छ, हवस्, हवस्’ भन्दै फोन राखे।

स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त अर्का उपकुलपतिलाई यो जिज्ञासा राख्दा उनले पनि हाँस्दै भने, ‘यो गोप्य राख्नु भनेको कुरा मैले इनफरमल नै भए पनि सबै भन्न नमिल्ने होला!’

उकेराले उनलाई नियुक्ति अगाडि मिति नराखेको राजीनामा पत्रमा हस्ताक्षर गराएको हो भनेर सोधेको थियो। ती उपकुलपतिले भने, ‘बुझ्नुहोस् न आफैँले, सबै तपाईंले नै भनिसक्नुभयो। अब त्यही अनुसार बुझ्नुपर्यो। ...सबले बुझिसक्नु भएको छ भने त्यही हो भनेर बुझ्नुपर्यो।’

नियुक्तिपूर्व नै राजीनामा पत्रमा हस्ताक्षर गराइएको विषयमा जिज्ञासा राख्दा अर्का एक उपकुलपतिले ‘यो सिधै मन्त्रालयलाई सोधे भयो नि त तपाईंहरूले’ भन्दै फोन राखे।

अर्का एक स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिले पनि ‘बुझ्ने कुरा तपाईंले सबै बुझिसक्नुभयो, धेरै कुरा बोल्दिन मँ अहिले’ भन्ने जवाफ दिए।

उकेराले सरकारले नियुक्त गरेका स्वास्थ्य विज्ञान प्रतिष्ठानका अर्का उपकुलपतिलाई पनि नियुक्ति पत्र दिनु अगाडि नै मिति नराखेको राजीनामा पत्रमा हस्ताक्षर गराएकोबारे प्रश्न गर्दा उनले ‘यस बारेमा त केही भन्नै मिल्दैन, अहिले केही भन्न सकिँन’ भन्ने जवाफ दिए।

अर्को स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिले पनि हाँस्दै ‘त्यो धेरै ठूलो कुरा पनि हैन, तपाईंलाई सबै कुरा थाहा छ, यो विषयमा धेरै कुरा नगरौँ होला’ भन्दै फोन राखे।

शिक्षातर्फका एक उपकुलपतिको मात्र अस्वीकार 
शिक्षा मन्त्रालयतर्फको नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. भीम प्रसाद खतिवडाले आफूलाई नियुक्तिपत्र र शपथग्रहण गराइएको बाहेक अन्य कुनै बाध्यात्मक विषयको जानकारी नभएको दाबी गरे। तर, उनीबाहेक उकेराले सम्पर्क गरेका शिक्षातर्फका अन्य तीन उपकुलपतिले भने राजीनामा पत्रमा हस्ताक्षर गराएकोबारे प्रश्न गर्दा अस्वीकार गरेनन्।

उकेराले दशरथ चन्द विश्वविद्यालय बाहेक शिक्षातर्फका चार वटा विश्वविद्यालयका उपकुलपतिसँग राजीनामा पत्रमा हस्ताक्षर गरेको विषयमा बुझ्नका लागि सम्पर्क गरेको थियो। शिक्षा मन्त्रालयतर्फको विश्वविद्यालयका अर्का उपकुलपतिले ‘म पनि मान्छे डिप्लोम्याट नै हो। यो विषयमा म कमेन्ट गर्न चाहिनँ’ भन्ने जवाफ दिए।

‘मैले पनि आफ्नो भन्न सक्ने जति, क्षमताले भ्याए जति आफ्ना बिचार राख्न सक्ने ठाउँमा आफ्ना कुरा त राखेको छु,’ ती उपकुलपतिले भने, ‘...पब्लिकले यसलाई कसरी हेर्ने हो भन्नेचाहिँ सोसाइटीको जिम्मामा राख्नु न।’

विश्वविद्यालयका अर्का दुई उपकुलपतिले पनि ‘यो विषयमा बोल्न मिल्दैन हजुर, मिलाएर बुझ्नु न’ भन्दै फोन राखे।

कसरी चुहियो सूचना?
विश्वविद्यालय जस्तो प्राज्ञिक क्षेत्रमा सम्बन्ध र दलगत नभई क्षमताको आधारमा नियुक्तिको दाबी गर्दै पहिला नै राजीनामा लिएर मात्र नियुक्ति पत्र दिएको विषय निकै गम्भीर हो। अनि यो गम्भीर विषय डा. गोविन्द केसीको अनसन तोडाउन सरकारी वार्ता टोलीको तर्फबाट धनगढीस्थित सेती अस्पताल पुगेका शिक्षा मन्त्रालयका प्रतिनिधिले चुहाएका हुन्।

स्रोतका अनुसार डा केसीसँग वार्ताको क्रममा ती प्रतिनिधिले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुनील कुमार जोशी र रजिस्ट्रार डा. भीम चन्दलाई नियुक्ति पत्र लिनुपूर्व नै राजीनामा पत्र तयार गरेर राखिएको बताएका थिए। 

‘मिटिङमा नै शिक्षा मन्त्रालयका प्रतिनिधिले उहाँहरूलाई केही समस्या छैन, नियुक्ति लिनु अगाडि नै राजीनामा पत्रमा साइन गराएको छ भन्नुभएछ,’ स्रोतले उकेरालाई भन्यो, ‘उहाँहरूलाई सजिलै राजीनामा लिन सक्छौँ भनेर भनिदिनुभयो, त्यसपछि यो कुरा बाहिर निस्कियो।’

‘भीसी मात्रै हैन, सबै हाकिमहरूको राजीनामा पत्र लिइएको छ, त्यो मलाई थाहा छ,’ एक प्रतिष्ठानका पदाधिकारीले उकेरालाई भने, ‘एक जना नियुक्ति गरेका मान्छेले उल्टो उल्टो काम गरेछन्, त्यसैले राजीनामा पत्रमा साइन गरेर राख्यो भने आफ्नो हातमा हुन्छ भनेर साइन गराइएको छ।’

सरकारी निकायको अस्वीकार
यस विषयमा उकेराले सरकारी निकायसँग कुराकानी गर्दा उनीहरूले यसलाई अस्वीकार गरे। उकेरासँगको कुराकानीमा शिक्षा सचिव पौडेलले आफूले कतै पनि नियुक्तिअघि नै राजीनामा पत्रमा हस्ताक्षर गराएको बारेमा नबोलेको दाबी गर्दै यो विषय नै गलत भएको तर्क गरे।

यस विषयमा कुराकानीका फोन नउठाएपछि विषय खुलाएर स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटालाई म्यासेज पठाउँदा उनी सम्पर्कमा आएनन्। तर मन्त्रालयका सह-प्रवक्ता डा. समीरकुमार अधिकारीले त्यसरी राजीनामा पत्रमा हस्ताक्षर गराएर नियुक्ति नदिइएको दाबी गरे।

साउन १२, २०८३ मंगलबार १७:५९:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।