विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, प्रधानाध्यापकलाई वाट्सएपमा मेसेज पठाएर श्रीमान् फरार
भद्रपुर : झापाको मेचीनगर नगरपालिका-६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा श्रीमानसँगै बस्दै आएकी एक शिक्षिकाको शव फेला परेको छ।
सर्लाही लालबन्दी-२ की २९ वर्षीया कविताकुमारी ढुङ्गाना मृतावस्थामा भेटिएको प्रहरीले जनाएको छ। उनको मृत्युबारे विद्यालयका प्रधानाध्यापकलाई जानकारी दिएका श्रीमान् ३० वर्षीय रतन गुप्ता भने अहिले फरार छन्।
गुप्ता पर्साको वीरगञ्ज-१६ निवासी हुन् र श्रीमान्/श्रीमती दुवै जना गत वैशाखदेखि सोही विद्यालयमा अध्यापन गरिरहेका थिए। जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए।
विद्यालयका प्रधानाध्यापक दुर्गाबहादुर लुइँटेलका अनुसार यही साउन ५ गतेदेखि विद्यालय बिदामा रहेको र सोमबार विद्यालय सञ्चालनका क्रममा दुवै शिक्षक सम्पर्कमा नरहेको पाइयो। उनीहरू बस्ने कोठामा बाहिरबाट ताला लागेको थियो भने फोन सम्पर्क हुन सकिरहेको थिएन।
“दिनभरि सम्पर्क नभएपछि बेलुका करिब साढे ४ बजे रतन गुप्ता आफैँले मेरो वाट्सएपमा सन्देश पठाएका थिए। सन्देशमा श्रीमती कोठाभित्र झुन्डिएको अवस्थामा फेला परेको, आफूले अर्को कोठामा सारेको र डरका कारण त्यहाँबाट निस्किएको उल्लेख गर्दै ताला खोलेर कानुनी प्रक्रिया पूरा गरिदिन अनुरोध गरेका थिए”, प्रधानाध्यापक लुइँटेलले भने।
स्थानीयवासीका अनुसार गुप्तालाई आइतबार साँझ करिब ५ बजेतिर दुई वटा झोला बोकेर विद्यालयबाट बाहिरिँदै गरेको देखिएको थियो। त्यसयता उनी सम्पर्कमा रहेका छैनन्।
प्रहरी नायब उपरीक्षक अवाले भने, “विद्यालय परिसरभित्र एक महिलाको शव फेला परेको सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रारम्भिक अनुसन्धान सुरु गरिएको छ। मृत्युको कारण यकिन भइसकेको छैन र शवको परीक्षणसहित सबै पक्षबाट अनुसन्धान अघि बढाइएको छ। सम्पर्कविहीन रहेका उनका श्रीमान्को पनि खोजी भइरहेको छ।”
साउन १२, २०८३ मंगलबार ०८:४५:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।