सुनसरी तनावको चौथो दिन बल्ल प्रधानमन्त्रीले नेपाल प्रहरी र सशस्त्रका प्रमुखसँग एक्लाएक्लै सुरक्षा ब्रिफिङ लिए

सुनसरी तनावको चौथो दिन बल्ल प्रधानमन्त्रीले नेपाल प्रहरी र सशस्त्रका प्रमुखसँग एक्लाएक्लै सुरक्षा ब्रिफिङ लिए

काठमाडौं : सुनसरीमा तनाव बढेको चौथो दिनमा प्रधानमन्त्री वालेन्द्र शाहले बल्ल घटना र सो क्षेत्रको अवस्थाबारे गृहमन्त्री र सुरक्षा संगठनका प्रमुखहरूसँग छुट्टाछुट्टै जानकारी लिएका छन्। उनले बुधवार साँझ पहिलो पटक औपचारिक रूपमा जानकारी लिएका हुन्।

प्रधानमन्त्री सचिवालयका अनुसार  बैठकमा गृहमन्त्री सुधन गुरुङसहित नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्की र  सशस्त्र प्रहरी बलका प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलसँग छुट्टाछुट्टै भेटेर सुनसरीको पछिल्लो वस्तुस्थिति, सुरक्षा चुनौती र सम्भावित जोखिमबारे विस्तृत जानकारी लिएका हुन्।

सचिवालयका अनुसार ​प्रधानमन्त्री शाहले सुनसरीको परिस्थिति तत्काल नियन्त्रणमा लिन, आम नागरिकको धनजनको सुरक्षा सुनिश्चित गर्न र सामाजिक सद्भावमा खलल पुर्याउन खोज्ने तत्त्वहरूमाथि कडा निगरानी राख्न निर्देशन दिएका छन्। मन्त्रीपरिषद्को बैठकपछि प्रधानमन्त्री शाहले सुरक्षा संगठनका प्रमुखहरूसँग एक्लाएक्लै भेटेका हुन्। 

घटनामा मृत्यु भएका एक युवाका परिवारले राहतसहित उनलाई शहीद घोषणाको माग गरिरहेका छन्। प्रधानमन्त्री शाहले मंगलबार मध्यरात फेसबुकमा पीडित परिवारलाई सरकारले राहत दिने लेखेका थिए। तर बुधवार बसेको मन्त्रीपरिषद् बैठकले त्यस्तो केही निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएनन्।

साउन १३, २०८३ बुधबार १९:१२:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।