मन्त्रिपरिषद् बैठकले सुनसरी घटना 'थाहै पाएन'
काठमाडौँ : सुनसरीमा फैलिएको अशान्तिबारे सरकार मौन रहेको भन्दै बढ्दो आलोचनासँगै बुधवार मन्त्रिपरिषद्को बैठक बस्यो। सामाजिक सद्भावमाथि नै चुनौती बढाइरहेको घटनाबारे मन्त्रिपरिषद्बाट कुनै सम्बोधन भएन। सरकारका प्रवक्ता सस्मित पोखरेलले सार्वजनिक गरेको मुख्य निर्णयहरूमा विधेयकहरू पेस गर्न स्वीकृत दिने र केही नियुक्तिहरू मात्र छन्।
बैठक सकिएपछि पोखरेलले सञ्चारकर्मीहरूमाझ आएर सरासर मन्त्रिपरिषद्को निर्णयहरू पढे र धन्यवाद भन्दै हिँडे। उनले मन्त्रिपरिषद्मा सुनसरीको घटनाबारे केही छलफल भयो या भएन केही बताएनन्। उनको सहयोगीले 'आज मन्त्रिपरिषद्को निर्णय मात्रै' भन्दै प्रवक्तासँग प्रश्न सोध्न पछि लागेका सञ्चारकर्मीलाई धकेल्दै पन्छाए।
मंगलबार मध्यरात साढे ११ बजे फेसबुकको आफ्नो अकाउन्टमा प्रधानमन्त्री वालेन्द्र शाहले 'सरकारले सक्दो चाँडो न्याय र क्षतिपूर्ति उपलब्ध गराउने' लेखेका थिए। तर बुधवार बसेको बैठकले त्यस्तो कुनै निर्णय गरेको वा छलफल भएकोबारे सरकारका प्रवक्ता पोखरेलले केही उल्लेख गरेनन्।
पोखरेलले सरकारको प्रवक्ताको रूपमा समेत सुनसरी घटनाबारे केही बोलेनन्। उनी सरासर आए, भटाभट निर्णय पढे र हिँडे। उनको व्यवहारले सुनसरीमा केही भएकै छैन जस्तै देखियो।
साउन १३, २०८३ बुधबार १७:३६:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।