सुनसरीमा जनजीवन सामान्य बन्दै, स्थानीय तहमा सर्वपक्षीय सद्भाव बैठक

सुनसरीमा जनजीवन सामान्य बन्दै, स्थानीय तहमा सर्वपक्षीय सद्भाव बैठक

काठमाडौं : गत आइतबार दुई समूहबीच भएको झडपपछि अशान्त बनेको सुनसरीको स्थिति सामान्य बन्दै गएको छ। सरकार, स्थानीय प्रशासन, सुरक्षा निकाय र राजनीतिक दलहरूको संयुक्त प्रयासपछि अवस्था सामान्य बन्दै गएको हो।

जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले सुरक्षा अवस्था सामान्यतर्फ उन्मुख भएको र थप प्रयास जारी रहेको बताए। उनका अनुसार प्रभावित केही गाउँपालिकाले सर्वपक्षीय सद्भाव बैठक आयोजना गरी अवस्था सामान्य बनाउनका लागि भूमिका खेलेका छन्। 

“विशेष गरी हरिनगर र भोक्राह नरसिंह गाउँपालिकाले आज सर्वपक्षीय सद्भाव बैठक आयोजना गरेका छन्, उक्त बैठकमा शान्ति तथा सुव्यवस्थामा खलल आउन नदिनका लागि सक्दो प्रयास गर्ने सहमति भएको छ”, उनले भने। 

स्थानीय प्रशासनले प्रभावित पालिकाका जनप्रतिनिधि र विवादमा संलग्न दुवै पक्षसँग शान्ति कायम राख्न छुट्टाछुट्टै छलफल अघि बढाएको छ।

गत आइतबार राति दुई समूहबीच भएको विवादका क्रममा भएको झडपमा गोली लागी एक जनाको मृत्यु भएको थियो। जिल्ला प्रशासन कार्यालयले अवस्था बिग्रन नदिन तत्कालै विभिन्न प्रभावित नगरपालिका र गाउँपालिकामा अनिश्चितकालीन कर्फ्यु तथा निषेध आदेश जारी गरेको थियो।

सो घटनाका सम्बन्धमा मङ्गलबार प्रधानमन्त्री वालेन्द्र शाहले दुःख व्यक्त गर्दै मृतकका परिवारलाई न्याय, पीडितलाई क्षतिपूर्ती र दोषीमाथि कारबाही गर्ने प्रतिबद्धता जनाएका छन्। 
 
गृह मन्त्रालयले सुनसरी घटनापछि अन्य जिल्लामा हुनसक्ने सम्भावित विवाद र झडपलाई मध्यनजर गर्दै ती जिल्लाको सुरक्षा अवस्थाबारे निरन्तर अनुगमन र समन्वय गरिरहेको जनाएको छ। 

मन्त्रालयका प्रवक्ता एवम् सह–सचिव आनन्द काफ्लेले मन्त्रालयले विशेषगरी बाँके, कपिलवस्तु तथा मधेशका जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग सम्पर्क गरी वर्तमान अवस्था, विभिन्न समुदायबीचको समन्वय र सद्भाव कायम राख्न भइरहेका प्रयासबारे जानकारी लिएको बताए। उनले अहिले अन्य स्थानमा अवस्था सामान्य रहेको उल्लेख गर्दै सुनसरीमा पनि विभिन्न पक्षबीच वार्ताको प्रक्रियामार्फत समस्या समाधान भइरहेको बताए। 

गृह मन्त्रालयमा मन्त्री, सचिव तथा सुरक्षा निकायका अधिकारीहरूको सहभागितामा सुनसरी घटनापछि जिल्लागत सुरक्षा अवस्थाको समीक्षा समेत गरिएको उनले बताए। 

साउन १३, २०८३ बुधबार १७:०४:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।