सुनसरी तनावमा सरकार र प्रधानमन्त्री निष्क्रिय बनेको आरोप : रास्वपाको सर्वदलीय बैठकमा विपक्षी नेताहरूको प्रश्न, रवि र स्वर्णिमद्वारा बचाउ
काठमाडौं : सुनसरीमा सामाजिक सद्भाव भड्किँदै जाँदा र स्थिति नियन्त्रण बाहिर पुग्दा समेत सरकारको नेतृत्व तहबाट ठोस पहल नभएको भन्दै गम्भीर आलोचना बढेको छ।
स्थानीय प्रशासनले सेना समेत परिचालन गर्दा स्थिति पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन। यस्तो गम्भीर परिस्थितिमा पनि प्रधानमन्त्रीको अध्यक्षतामा बस्नुपर्ने राष्ट्रिय सुरक्षा परिषद्को बैठक हालसम्म बस्न सकेको छैन।
सरकारी संयन्त्रको औपचारिक पहल सुस्त देखिँदा प्रधानमन्त्री कार्यालयबाट केवल प्रवक्ताको नाममा मात्र औपचारिक अपिल जारी गरियो। प्रधानमन्त्री वालेन्द्र शाहले प्रधानमन्त्रीको आधिकारिक हैसियतमा नभई मंगलबार मध्यरात साढे ११ बजे आफ्नो व्यक्तिगत फेसबुक पेजमार्फत मात्र अपिल सार्वजनिक गरे।
भड्कदै गएको सामाजिक सद्भाव र हिंसात्मक घटना साम्य बनाउन सामुहिक पहल र ऐक्यवद्धताका लागि प्रधानमन्त्रीको सक्रियतामा सर्वदलीय बैठक र संवाद शुरू हुन नसकेपछि बुधबार सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सक्रियतामा सर्वदलीय बैठक डाँकियो।
सो बैठकमा समेत प्रधानमन्त्री स्वयं र गृहमन्त्री अनुपस्थित रहे। गृहमन्त्रीको समेत उपस्थिति नरहेपछि रास्वपा सभापति रवि लामिछानेको विशेष आग्रहमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले सरकारको तर्फबाट उक्त बैठकमा सहभागी भएका थिए।
के हो सुनसरी घटना?
सुनसरीमा केही दिनदेखि सामाजिक तथा जातीय/धार्मिक सद्भाव भड्किँदा स्थिति तनावग्रस्त बनेको छ। प्रदर्शन र झडपका क्रममा नागरिकको ज्यान जाने जस्तो दुःखद् दुर्घटना घटेपछि अवस्था थप जटिल बनेको हो।
स्थिति नियन्त्रणमा लिन सुरक्षा निकाय तथा सेना परिचालन गरिए पनि तनाव साम्य हुन सकेको छैन। घटनापछि पीडित परिवारलाई क्षतिपूर्ति, घाइतेको उपचार र दीर्घकालीन शान्ति-सद्भाव कायम गर्ने विषय अहिले मुख्य चुनौती बनेको छ।
सर्वदलीय बैठकमा प्रश्न- प्रधानमन्त्री ठालु भएर बस्ने हो?
बुधबार रास्वपाले आह्वान गरेको सर्वदलीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरूले घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सरकार र प्रधानमन्त्रीको भूमिकामाथि कडा प्रश्न उठाए।
नेपाली कांग्रेसका नेता गगन थापाले संकटका बेला प्रधानमन्त्री निष्क्रिय बनेर बसेको भन्दै कडा आपत्ति जनाए। उनले सरकार बन्दुक, गोली, लाठी र सामाजिक सञ्जालको स्टाटसमा मात्र सीमित रहन नहुने बताए।
थापाले प्रधानमन्त्रीले तत्काल सर्वदलीय बैठक बोलाउनुपर्ने, राष्ट्रपतिसँग भेट्नुपर्ने तथा प्रदेश र स्थानीय सरकारहरूसँग संवाद गर्नुपर्ने सुझाव दिँदै भने, ‘यस्तो बेलामा पनि प्रधानमन्त्रीले भाउ खाएर बस्ने हो? ठालु भएर बस्ने हो? सबैसँग सम्पर्क गर्ने, सबै पक्षलाई जोड्ने र सबैलाई समेटेर अघि बढ्ने प्रयास गर्नुपर्दैन?’
भूकम्प र कोभिड महामारीका बेला जस्तै राजनीतिक मतभेद छाडेर एक ठाउँमा उभिनुपर्ने भन्दै उनले कांग्रेसले सामाजिक सद्भाव जोगाउन आन्तरिक रूपमै टेलिफोन संवाद र संयमताको आह्वान गरिरहेको जानकारी दिए।
मधेशमा कुनै घटना हुँदा आवश्यकताभन्दा बढी बल प्रयोग गर्ने राज्यको मानसिकता पुनः देखिएको भन्दै थापाले संसद्मा यस घटनाको निष्पक्ष छानबिनका लागि आवाज उठाउने बताए।
पूर्वप्रधानमन्त्री तथा नेकपामा संयोजक पुष्पकमल दाहाल प्रचण्डले संवेदनशील अवस्थामा सबै पक्षले संयमता अपनाउनुपर्ने र प्रधानमन्त्रीले तत्काल दलहरूलाई विश्वासमा लिएर संवादको पहल गर्नुपर्ने बताए।
राष्ट्रिय महत्त्वका संवेदनशील विषयमा सरकार साझा समाधानतर्फ अग्रसर हुन नसकेको र संसद्मा पनि प्रभावकारी नदेखिएको उनको टिप्पणी थियो। बल प्रयोग समस्याको दीर्घकालीन समाधान नभएको भन्दै संवाद र सहमतिकै बाटो रोज्नुपर्नेमा उनले जोड दिए।
साथै, बाहिरबाट वातावरण भड्काउन खोज्ने तत्त्वहरू सक्रिय हुन सक्ने भएकाले उच्च सतर्कता अपनाउन र घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न उनले माग गरे।
एमाले महासचिव शंकर पोखरेलले सुनसरीका नागरिकका लागि सरकारले अभिभावकको भूमिका खेलेको छ भन्ने अनुभूति गराउनुपर्ने बताए।
यस्ता घटना हुनुका कारण पहिचान गर्नुपर्ने बताउँदै पोखरेलले भने, ‘सुरक्षा निकायको मनोबल गिरेका कारण यस्ता घटना हुन्छन् वा सुरक्षा निकायलाई भिड व्यवस्थापन गर्नसक्ने र नागरिकको ज्यान नजाने गरी ध्यान दिन जरुरी छ।’
प्रधानमन्त्रीको बचाउमा रवि र स्वर्णिम
सर्वदलीय बैठकमा विपक्षी नेताहरूले प्रधानमन्त्रीको अनुपस्थिति र भूमिकामाथि प्रश्न उठाए पनि रास्वपा सभापति रवि लामिछाने र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्रीको बचाउ गरे।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै रास्वपा सभापति लामिछानेले प्रधानमन्त्री र गृहमन्त्रीले आफ्नो तर्फबाट काम गरिरहेको दाबी गरे। तर के काम गरिरहेको हो त्यो खुलाउन सकेनन्। उनले गर्नुपर्ने काम गरिरहेको भनेर आलेटाले जवाफ दिए।
‘प्रधानमन्त्रीले गर्नुपर्ने काम गरिराख्नुभएको छ, गृहमन्त्रीले गर्नुपर्ने काम गरिराख्नुभएको छ। अहिले शान्ति सद्भाव कायम गर्ने हो, चर्का कुरा गर्ने होइन। कसले बोल्यो कसले बोलेन भन्ने भन्दा पनि सामाजिक सद्भाव नभड्कियोस् भन्ने मुख्य विषय हो। नागरिकको ज्यान गएको यस घटनामा सबै गम्भीर हुनुपर्छ’, उनले भने।
सर्वदलीय बैठकमा सहभागी भएका अर्थमन्त्री वाग्लेले प्रधानमन्त्री समस्या समाधानमा अत्यन्तै गम्भीर रहेको दाबी गरे।
‘सुनसरीमा घटेको दुःखद् दुर्घटना र त्यसपछिको स्थितिलाई समाधान गर्न प्रधानमन्त्रीज्यू अत्यन्तै गम्भीर हुनुहुन्छ। उहाँकै समन्वयमा सरकारले सामाजिक सद्भाव कायम गर्न, सुरक्षा प्रबन्ध चुस्त राख्न, पीडितलाई क्षतिपूर्ति र घाइतेको उपचारका लागि यथेष्ट पहल लिइरहेको छ। सर्वदलीय बैठकमा उठेका विषयहरू म प्रधानमन्त्रीलाई अवगत गराउने छु’, उनले भने।
साउन १३, २०८३ बुधबार १२:१२:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।