शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण, १३ दिनमै ६०० जनाले गरे भ्रमण

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण, १३ दिनमै ६०० जनाले गरे भ्रमण

महेन्द्रनगर : सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आवागमन उल्लेख्य रूपमा बढेको छ।

मुलुक चाडपर्वमय भइरहेका बेला शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको भ्रमण गर्नेको सङ्ख्या बढेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका रेञ्जर विक्रम चौधरीले जानकारी दिए।

गत असोज २८ गतेदेखि कात्तिक ९ गतेसम्म १३ दिनको अवधिमा आन्तरिक र बाह्य गरी ५९० जनाले निकुञ्जको अवलोकन भ्रमण गरेको रेञ्जर चौधरीले बताए। “बर्सातका बेला निकुञ्ज प्रवेश बन्द थियो। असोजको अन्तिम साता मात्रै खुला गरिएको हो”, चौधरीले भने, “चाडपर्वका बेला घर आएका कञ्चनपुरसहित सुदूरपश्चिमका साथै मुलुकका विभिन्न स्थानबाट यहाँ आउने क्रम बढेको छ।”

निकुञ्ज खुला भएयता सोमबारसम्म भ्रमण गर्नेहरूमा ५६० जना आन्तरिक पर्यटक, २३ जना सार्क मुलुकका र ७ जना अन्य विदेशी पर्यटक रहेका छन्। चाडपर्व मनाउन घर फर्किएका स्थानीय, अध्ययन तथा कामको सिलसिलेमा जिल्ला बाहिर रहेका नागरिकका साथै देशका विभिन्न भागबाट पर्यटकहरू यहाँ पुगिरहेका छन्।

“काम र अध्ययनलगायतका कारणले जिल्ला बाहिर रहनुभएका कञ्चनपुरका स्थानीय नागरिक पनि बिदाका बेला शुक्लाफाँटा घुम्न आउने गरेका छन्”, चौधरीले भने, “निकुञ्जको प्रचारप्रसार र पर्यटक प्रवर्द्धनका लागि पनि प्रयास भइरहेकै छन्।”

करिब ३०५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्ज विश्वमै ठूलो बाह्रसिङ्गा हुल अवलोकन गर्न पाउने निकुञ्जका रुपमा परिचित छ। त्यस्तै मुलुकभरमै थोरै क्षेत्रफलमा धेरै पाटे बाघ भएको निकुञ्जका रुपमा समेत परिचित छ। यहाँ दुई हजार तीन सयभन्दा बढी बाह्रसिङ्गा, ५० वटा पाटे बाघ, २० भन्दा बढी गैडा, साढे चार सयभन्दा बढी चराचुरुङ्गी पाइने निकुञ्ज कार्यालयले जनाएको छ।

निकुञ्ज प्रवेशका लागि आन्तरिक पर्यटकलाई प्रतिव्यक्ति १००, सार्क राष्ट्रका पर्यटकलाई ७५० र अन्य विदेशी पर्यटकलाई एक हजार ५०० शुल्क तोकिएको छ।

कात्तिक १०, २०८३ मंगलबार १३:५८:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।