सुदूरपश्चिममा असोज महिनाका २३५ दुर्घटनामा १२ जनाको मृत्यु, अधिकांशमा चालकको लापरवाही मुख्य कारण

सुदूरपश्चिममा असोज महिनाका २३५ दुर्घटनामा १२ जनाको मृत्यु, अधिकांशमा चालकको लापरवाही मुख्य कारण

कञ्चनपुर : सुदूरपश्चिम प्रदेशमा पछिल्लो एक महिनाको अवधिमा भएका सवारी दुर्घटनामा परि १२ जनाले ज्यान गुमाएका छन्। असोज महिनामा मात्रै यस प्रदेशमा २३५ वटा सवारी दुर्घटना भएको प्रहरीले जनाएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका  प्रहरी वरिष्ठ उपरीक्षक पदमबहादुर विष्टका अनुसार ती दुर्घटनाहरूमा ३२१ वटा सवारीसाधन संलग्न रहेका थिए भने ३६३ जना घाइते भएका छन्।

विष्टका अनुसार २०८ वटा दुर्घटना चालकको लापरवाहीका कारण भएका छन्। यसैगरी, यान्त्रिक गडबडीका कारण ९, मादक पदार्थ सेवन (मापसे) गरेर ६, चौपायाका कारण ५, सडकको खराब अवस्थाका कारण ४ र पैदलयात्री तथा यात्रुको असावधानीका कारण ३ वटा दुर्घटना भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । 

दुर्घटनाको जोखिमलाई ध्यानमा राख्दै प्रहरीले सवारीसाधनको यान्त्रिक परीक्षण गर्ने विशेष अभियान समेत सुरु गरेको छ।

“प्रहरीले सवारीको यान्त्रिक परीक्षण गर्ने कार्यक्रमको सुरुआत गरेको छ,”  विष्टले भने। 

यसैबीच, सोही अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने तीन हजार ९०३ वटा सवारीसाधन कारबाहीमा परेका छन्। कारबाहीमा  परेकाबाट प्रहरीले ३३ लाख ८६ हजार ५०० रकम राजश्व सङ्कलन गरेको छ।

साथै, प्रहरीले यस अवधिमा भन्सार छली, प्राकृतिक सम्पदा दोहन र अवैध चोरी-पैठारीविरुद्ध पनि कडा कारबाही चलाएको छ।

कात्तिक १०, २०८३ मंगलबार १३:४२:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।