मान्मका मासु पसलमा खसी भन्दै बाख्रा बिक्री

मान्मका मासु पसलमा खसी भन्दै बाख्रा बिक्री

कालीकोट : कालीकोटको सदरमुकाम मान्म बजारमा सञ्चालित अधिकांश मासु पसलहरू मापदण्डविपरीत, अव्यवस्थित र विनादर्ता सञ्चालन भइरहेको पाइएको छ।

जिल्ला प्रशासन कार्यालय कालीकोट र नेपाल उद्योग वाणिज्य संघको संयुक्त टोलीले मंगलबार गरेको बजार अनुगमनका क्रममा यस्तो बेथिति फेला परेको हो। टोलीले बजार क्षेत्रका ६ वटा मासु पसलको स्थलगत निरीक्षण गरेको थियो।

अनुगमनका क्रममा कतिपय व्यवसायीले खसी भन्दै बाख्राको मासु बिक्री गर्ने गरेको, सरसफाइमा चरम लापरबाही गरी सडकमै खुला रूपमा मासु काट्ने गरेको तथा पसलहरूमा मूल्यसूचीसमेत नराखेको पाइएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्माका अनुसार अनुगमन गरिएका अधिकांश पसलहरू कानुनी रूपमा दर्ता नै नभएको पाइएको छ।

"मासु पसलहरूमा उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलवाड भएको देखियो," उनले भने, "दर्ता नभएका पसलहरूलाई सात दिनभित्र कानुनी प्रक्रिया पूरा गर्न निर्देशन दिएका छौँ। सुधार नगरे कडा कानुनी कारबाही अघि बढाइनेछ।"

यसैबीच, उद्योग वाणिज्य संघ कालीकोटका अध्यक्ष रतनबहादुर शाहीले नियमविपरीत सञ्चालन हुने व्यवसायलाई संघले कुनै पनि हालतमा संरक्षण नगर्ने बताए।

उनले स्वच्छ र गुणस्तरीय मासु मात्र बिक्री गर्न, उचित भण्डारणको व्यवस्था मिलाउन र मूल्यसूची अनिवार्य राख्न व्यवसायीलाई आग्रह गर्दै अटेर गर्नेलाई कानुनी दायरामा ल्याउन प्रशासनसँग समन्वय भइरहेको जानकारी दिए।

कात्तिक १०, २०८३ मंगलबार १३:२२:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।