सुनसरीमा मंगलबार साँझ भएको झडपमा पसल, घर र पेट्रोल पम्पमा समेत तोडफोड
सुनसरी : सुनसरीको देवानगन्ज क्षेत्रमा मंगलबार साँझ दुई पक्षबीच उग्र झडप भएको छ। करिब अढाई घण्टासम्म चलेको ढुङ्गामुढा, तोडफोड र आगजनीपछि राति साढे तीन बजेबाट मात्रै अवस्था सामान्य बन्दै गएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता, डीएसपी चन्द्रबहादुर खड्काका अनुसार झडपका क्रममा दुवै पक्षबाट एकअर्काको घर तथा संरचनामा ढुङ्गामुढा भएको छ।
‘क्षतिको पूर्ण विवरण सङ्कलन भइरहेको छ। अहिलेसम्मको जानकारीअनुसार व्यक्तिगत घरहरूमा आंशिक क्षति पुगेको छ। एउटा हार्डवेयर पसलमा तोडफोड भएको छ भने अन्य दुईवटा घरमा क्षति पुर्याएर एउटा मोटरसाइकलमा समेत क्षति गरिएको छ,’ डीएसपी खड्काले उकेरासँग भने, ‘बजार क्षेत्रमा रहेका टहरा (हाटिया लाग्ने बजार) र एउटा पेट्रोल पम्पमा समेत ढुङ्गामुढा भएको छ।’
दुवै पक्षले एकअर्काको घरमा ढुङ्गामुढा गरेको उनले पुष्टि गरे। झडपले उग्र रूप लिएपछि स्थिति नियन्त्रणमा लिन ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो।
घटनास्थलमै खटिएका इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी सुवास हमालका अनुसार अहिले देवानगन्ज क्षेत्रको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ। डीएसपी हमालले दुई पक्षबीच एकअर्कामाथि आक्रमण, तोडफोड र आगजनी भएको पुष्टि गर्दै रातिको समय भएकाले क्षतिको यकिन विवरण तत्काल सङ्कलन गर्न सम्भव नभएको बताए।
बुधबार बिहानबाट क्षतिको विस्तृत विवरण सङ्कलन गरिने प्रहरीले जनाएको छ। थप अप्रिय घटना हुन नदिन त्यस क्षेत्रमा बाक्लो रूपमा सुरक्षाकर्मी तैनाथ गरी उच्च सतर्कता अपनाइएको छ।
साउन १३, २०८३ बुधबार १०:२०:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।