सरकारको भूमिकामाथि प्रश्न उठाउँदै सर्वदलीय बैठकमा प्रचण्डले के भने?

सरकारको भूमिकामाथि प्रश्न उठाउँदै सर्वदलीय बैठकमा प्रचण्डले के भने?

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनसरीमा देखिएको तनावलाई बल प्रयोगबाट नभई संवाद र राजनीतिक समझदारीबाट समाधान गर्नुपर्ने बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकमा आफ्नो धारणा राख्दै प्रचण्डले सामाजिक सद्भाव कायम गर्न अपिल गर्नुका साथै रास्वपा नेतृत्वको सरकारको कार्यशैलीमाथि गम्भीर प्रश्नसमेत उठाएका छन्।

‘सरकार साझा समाधानमा अग्रसर हुन सकेन’
विगतमा भूकम्प, बाढी-पहिरो र संविधान निर्माणका बेला दलहरूले देखाएको साझा सहमति र राष्ट्रिय एकताको स्मरण गर्दै प्रचण्डले अहिले पनि त्यस्तै राजनीतिक परिपक्वताको आवश्यकता रहेको औंल्याए।

तर, यस्तो राष्ट्रिय महत्त्वको संवेदनशील विषयमा रास्वपा नेतृत्वको सरकार साझा समाधानतर्फ अग्रसर हुन नसकेको भन्दै उनले असन्तुष्टि जनाए।

‘संसद्भित्र पनि सरकारको प्रस्तुति अपेक्षाअनुसार प्रभावकारी देखिएको छैन,’ प्रचण्डले बैठकमा भने, ‘यस्तो अवस्थामा सरकार अझ जिम्मेवार, सक्रिय र संवेदनशील बन्नुपर्छ। प्रधानमन्त्रीले तत्काल सबै दललाई विश्वासमा लिएर सर्वदलीय संवाद र सहमतिको पहल गर्नुपर्छ।’

यद्यपि, संवेदनशील घडीमा सर्वदलीय बैठक बोलाएको भन्दै उनले रास्वपा सभापति लामिछानेलाई धन्यवाद दिएका थिए।

‘बाहिरी तत्त्वले भड्काउन सक्छन्, सतर्क रहौँ’
पूर्वप्रधानमन्त्री प्रचण्डले बल प्रयोग कुनै पनि समस्याको दीर्घकालीन समाधान हुन नसक्ने भन्दै संवादमार्फत नै परिस्थितिलाई सहज बनाउनुपर्नेमा जोड दिए।

उनले घटनास्थलमा स्थानीय व्यक्तिमात्र नभई बाहिरबाट आएर वातावरण भड्काउने तत्त्वसमेत सक्रिय हुन सक्ने जोखिम औंल्याउँदै सबै पक्षलाई उच्च सतर्कता अपनाउन आग्रह गरे।

सुनसरी घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्नुपर्ने उनको माग छ।

आफ्नो पार्टीले सुनसरी घटनाबारे आधिकारिक धारणा सार्वजनिक गरिसकेको र स्थानीय तहमा सद्भाव कायम राख्न पार्टी पङ्क्तिलाई निर्देशन दिइसकेको प्रचण्डले जानकारी गराए।

‘यो राजनीतिक तिक्तता बढाउने समय होइन, राष्ट्रिय जिम्मेवारी प्रदर्शन गर्ने समय हो,’ प्रचण्डले भने, ‘सबै राजनीतिक दल, सरकार र सरोकारवाला पक्षले शान्ति र आपसी विश्वासलाई केन्द्रमा राखेर एकजुट रूपमा अघि बढ्नुपर्छ।’

साउन १३, २०८३ बुधबार ०९:४५:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।