सुनसरी घटनाबारे रास्वपाले बोलाएको सर्वदलीय बैठक सिंहदरबारमा जारी

सुनसरी घटनाबारे रास्वपाले बोलाएको सर्वदलीय बैठक सिंहदरबारमा जारी

काठमाडौं : सुनसरीमा भएको साम्प्रदायिक झडपपछि संवेदशनील परिस्थितिबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा जारी छ। बैठक सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा बैठक बसिरहेको छ।

रास्वपाका महामन्त्री विपीन आचार्यका अनुसार सुनसरीको दुःखद घटनापछि समाजमा फैलिन सक्ने द्वेष न्यूनीकरण गर्न र सामाजिक सद्भाव कायम राख्न यो बैठक बोलाइएको हो।

‘प्रशासनिक रूपमा शान्ति सुरक्षा कायम गर्ने प्रयास भइरहँदा राजनीतिक तहबाट पनि सामूहिक सन्देश र अपिल जानु आवश्यक देखिएकाले सर्वदलीय छलफल आयोजना गरिएको हो’, उनले भने।

बैठकमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको उपस्थिति छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र  एमाले महासचिव शंकर पोखरेल बैठकमा सहभागी छन्।

त्यसैगरी, जनमत पार्टीका अध्यक्ष सीके राउत, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र प्रमुख सचेतक खुश्बु ओली तथा श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राई पनि बैठकमा उपस्थित छन्।

रास्वपाका तर्फबाट सभापति लामिछानेका साथै सरकारका अर्थमन्त्री समेत रहेका पार्टी उपसभापति डा. स्वर्णिम वाग्ले, संसदीय दलका उपनेता गणेश पराजुली र पूर्वउपसभामुख एवं सांसद इन्दिरा रानामगर छलफलमा सहभागी छन्।

साउन १३, २०८३ बुधबार ०९:१४:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।