सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुनसरी घटनालगायत विषयमा छलफल गर्न बुधबार बिहान ८ बजे सर्वदलीय बैठक आह्वान गरेका छन्।
सिंहदरबारस्थित लेखा समितिको बैठक कक्षमा बस्ने उक्त बैठकमा संसद्मा रहेका सबै दलका साथै उपेन्द्र यादव, महन्थ ठाकुर र सीके राउत नेतृत्वका दलहरूलाई समेत आमन्त्रण गरिएको रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले जानकारी दिए।
बैठकका लागि सबै दललाई पत्राचार गर्नुका साथै सभापति लामिछानेले नेताहरूलाई आफैँ फोन गरेर आमन्त्रण गरेको महामन्त्री आचार्यले बताए।
अत्यन्तै संवेदनशील र दुःखद घटना तथा त्यसले निम्त्याएको असहज अवस्थामा सामाजिक रूपमा फैलन सक्ने द्वेष न्यूनीकरण गरी सद्भाव र शान्ति सुरक्षा कायम गर्न प्रशासनिक प्रयास जारी रहँदा राजनीतिक रूपमा पनि सामूहिक सन्देश र अपिलको आवश्यकताबोध भएकाले छलफल आयोजना गरिएको महामन्त्री आचार्यले स्पष्ट पारे।
साउन १२, २०८३ मंगलबार २२:०५:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।