जापानमा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प : सपिङ मल भत्किँदा कयौँ बेपत्ता, रातभर उद्धार जारी

जापानमा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प : सपिङ मल भत्किँदा कयौँ बेपत्ता, रातभर उद्धार जारी

एजेन्सी : जापानको दक्षिण-पश्चिममा रहेको क्युशु टापुको कुमामोतो क्षेत्रलाई केन्द्रविन्दु बनाएर शक्तिशाली भूकम्प गएको छ।

भूकम्पका कारण ठूला भवन, पुल र ऐतिहासिक सम्पदामा क्षति पुग्नुका साथै कैयौँ मानिसहरू भग्नावशेषमा थुनिएको आशङ्का गरिएको छ।

जापानको मौसम विज्ञान एजेन्सीका अनुसार भूकम्पको तीव्रता ७.१ म्याग्निच्युड मापन गरिएको छ भने अमेरिकी भौगर्भिक सर्भेले यसको तीव्रता ६.८ म्याग्निच्युड रहेको जनाएको छ। भूकम्पपछि ६० भन्दा बढी पराकम्पहरू महसुस भइसकेका छन्।

कुमामोतोस्थित प्रसिद्ध ‘इओन सपिङ मल’को दोस्रो तल्ला भत्किएको छ। मलका २० देखि ३० जना कर्मचारीहरूसँग सम्पर्क हुन सकेको छैन। उनीहरू भग्नावशेषभित्र थुनिएको आशङ्कामा रातभर उद्धार टोलीले खोजी जारी राखेको छ।

यत्सुशिरो शहरमा रहेको एक कागज कारखानाको ठूलो चिम्नी भत्किँदा केही कामदारहरू बेपत्ता भएका छन् भने १७औं शताब्दीमा निर्मित प्रसिद्ध 'कुमामोतो दरबार'का पुराना ढुङ्गे पर्खालहरू भूकम्पका कारण ढलेका छन्।

क्युशु टापुका ४० हजारभन्दा बढी घरहरूमा बिजुली र पानीको आपूर्ति ठप्प भएको छ। भूकम्पका कारण राजधानी टोकियोको हानेदा विमानस्थलबाट हुने ४० भन्दा बढी उडानहरू रद्द वा ढिलाइ भएका छन्।

जापानकी प्रधानमन्त्री सानाए ताकाइचीले उद्धार टोलीहरूलाई "मानव जीवन पहिलो प्राथमिकता" भन्ने सिद्धान्तका आधारमा काम गर्न निर्देशन दिएकी छन्। प्रभावित क्षेत्रमा ३,६०० भन्दा बढी आत्मरक्षा बल (सुरक्षाकर्मी) का जवानहरूलाई उद्धारमा खटाइएको छ। सुरक्षाकर्मीहरूले रातभर भग्नावशेष पन्छाएर मानिसहरूको खोजी गरिरहेका छन्।

प्रशासनले सर्वसाधारणलाई थप सतर्क रहन चेतावनी दिएको छ। यसअघि सन् २०१६ मा पनि कुमामोतो क्षेत्रमा पहिलो भूकम्प गएको दुई दिनपछि त्योभन्दा शक्तिशाली दोस्रो भूकम्प आउँदा २७८ जनाको मृत्यु भएको थियो।

सोही इतिहासलाई दोहोरिन नदिन अधिकारीहरूले स्थानीय बासिन्दालाई रेडियो र टेलिभिजनको सूचना नियमित सुन्न र सुरक्षित स्थानमा रहन अपिल गरेका छन्।

साउन १२, २०८३ मंगलबार २२:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।