कर्णालीको मुख्यमन्त्रीमा नेकपाका मंगलबहादुर शाहीको दाबी पेस
कर्णाली : कर्णाली प्रदेशको मुख्यमन्त्री पदमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका नेता मङ्गलबहादुर शाहीले दाबी पेस गरेका छन्।
केन्द्रमा नेकपा र एमाले)बीच भएको सहमति अनुसार नेता शाहीले एमाले संसदीय दलका नेता यामलाल कँडेलको समर्थनसहित प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्। ४० सदस्यीय कर्णाली प्रदेशसभामा सरकार गठनका लागि २४ जना सांसद (नेकपाका १४ र एमालेका १०) को हस्ताक्षर बुझाइएको छ।
प्रदेश प्रमुखले दिएको मङ्गलवार साँझ ५ बजेको समयसीमा अगावै एमालेका प्रमुख सचेतक टेकराज पछाइलाई साथमा लिएर शाहीले संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमतको सरकार गठनका लागि दाबी पेस गरेका हुन्।
नेता शाहीले आज दाबी पेस गरे पनि प्रदेश प्रमुख यज्ञराज जोशीले उनलाई बैठकको छलफलपछि बुधबार मात्रै नियुक्ति दिने प्रदेश प्रमुखको कार्यालय सुर्खेतका सूचना अधिकारी मनमाया काउचाले जानकारी दिए।
यसअघि गत असार ३२ गते नेकपा र नेपाली कांग्रेसका १६ जना सांसदले तत्कालीन मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। त्यसपछि साउन ९ गते कँडेलले प्रदेशसभाबाटै राजीनामाको घोषणा गरेका थिए।
प्रारम्भिक चरणमा नेपाली कांग्रेस र नेकपा मिलेर प्रदेश सरकार बनाउने प्रयास भए पनि केन्द्रमा एमाले र नेकपाबीच नयाँ गठबन्धन बनेपछि प्रदेशको अघिल्लो समीकरण फेरिएको हो।
साउन १२, २०८३ मंगलबार १८:३०:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।