भोलि विहान धौलीगंगाको बाँध खोलिँदै, महाकाली नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
दार्चुला : भारतको पिथौरागढस्थित धौलीगंगा जलविद्युत् आयोजनाको बाँध सफाइ गर्नका लागि ढोका खोलिने भएको छ।
बाँध खोलिँदा महाकाली नदीमा जलस्तर ह्वात्तै बढ्न सक्ने भएकाले जिल्ला प्रशासन कार्यालय दार्चुलाले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
भारतको एनएचपीसी लिमिटेड, धौलीगङ्गा पावर स्टेसनबाट प्राप्त पत्राचारअनुसार बाँधमा जम्मा भएको बालुवा तथा लेदो सफाइका लागि बुधबार बिहान ६ बजेदेखि बिहीबार साँझ ६ बजेसम्म बाँधका ढोकाहरू खोलिनेछन्।
जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी मोहन सिंह धामीद्वारा जारी सार्वजनिक सूचनामा बाँध खोलिने ३६ घण्टाको अवधि र त्यसपश्चात् समेत महाकाली नदीमा पानीको बहाव र जलस्तर बढ्न सक्ने उल्लेख छ।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै महाकाली नदी किनार तथा तटीय क्षेत्रका बासिन्दाहरूलाई पूर्व सतर्कता अपनाउन र नदी किनार आसपास नजान प्रशासनले अपिल गरेको छ।
साउन १२, २०८३ मंगलबार १७:४७:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।